arrow

निर्वाचन सुरक्षाका लागि पर्साका सीमानाका ७२ घण्टा बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १९ मंगलबार
cdo-parsa-.jpg

काठमाडौँ  । पर्सा जिल्ला प्रशासन कार्यालयले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सोमबार मध्यरातदेखि ७२ घण्टाका लागि नेपाल–भारत सीमानाका बन्द गरेको छ। 

सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलका अनुसार पर्सा जिल्लासँग जोडिएको भारतको विहार राज्यस्थित पूर्वी र पश्चिम चम्पारण जिल्लाका सीमानाकाहरू फागुन २१ गते राति १२ बजेसम्मका लागि पूर्ण रूपमा बन्द रहनेछन्। निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै दुवै मुलुकको आपसी सहमतिमा यो ७२ घण्टे मौन अवधिको सीमा बन्द गर्ने परम्परालाई निरन्तरता दिइएको हो।

यसैबीच, प्रशासनले तराई–मधेसमा आज मनाइने होली पर्वलाई पनि निर्वाचनमैत्री र शान्तिपूर्ण बनाउन विशेष आग्रह गरेको छ। निर्वाचनको आचारसंहिता लागू भइसकेकाले होली मनाउँदा सार्वजनिक स्थलमा होहल्ला गर्ने, जबर्जस्ती रङ दल्ने वा मदिरा सेवन गरी सामाजिक सद्भाव बिगार्ने काम नगर्न सचेत गराइएको छ। साथै, कुनै पनि राजनीतिक दल वा उम्मेदवारको झन्डा र चुनाव चिह्न अंकित लुगा लगाएर होली खेल्न समेत निषेध गरिएको छ।

होलीका बेला हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरणका लागि प्रशासनले फागुन २० गते मोटरसाइकल प्रयोग गरी होली मनाउन पूर्ण प्रतिबन्ध लगाएको छ। यसका साथै फागुन १९ गतेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म जिल्लाभर कुनै पनि राजनीतिक वा सामाजिक कार्यक्रममा डीजे लगायतका ध्वनि प्रदूषण हुने उपकरणहरू बजाउन रोक लगाइएको छ। प्रशासनले निर्वाचनको निष्पक्षता र शान्ति कायम गर्न यी नियमहरूको पालना गर्न सम्पूर्ण जिल्लाबासीलाई अनुरोध गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ