आज ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण लाग्दै, के-के होला ?
दिउँसो ३ बजेर ३४ मिनेटमा स्पर्श भई खग्रास भए पनि काठमाडौँबाट साँझ ६ बजेर ३ मिनेटमा चन्द्रोदय भएसँगै खण्डग्रास मात्र देखिने र बेलुका ७ बजेर २ मिनेटमा मोक्ष हुनेछ
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १९ मंगलबार
1.1k
Shares
काठमाडौँ । आज ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण लाग्नेछ । यो ग्रहण दिउँसो ३ बजेर ३४ मिनेटमा स्पर्श भई खग्रास भए पनि काठमाडौँबाट साँझ ६ बजेर ३ मिनेटमा चन्द्रोदय भएसँगै खण्डग्रास मात्र देखिने र बेलुका ७ बजेर २ मिनेटमा मोक्ष हुनेछ ।
१९ गते मंगलबार बिहान ९ बजेर ३ मिनेटबाट बाल, वृद्ध, रोगी र आतुरलाई बाहेक शास्त्रीय रूपमा भोजन निषेध गरिएको छ ।
यस आधारमा यो चन्द्रग्रहण मिथुन, तुला, वृश्चिक र मीन राशि भएकाले हेर्नु हुन्छ । अन्य राशि भएकाहरूले हेर्नु हुँदैन ।
पूर्वाफाल्गुनी नक्षत्रमा जन्म भएका र सिंह राशि भएका मानिसहरूका लागि यो ग्रहण कष्टकारक हुनेछ ।
ग्रहण लागेको बेला के गर्नु हुन्छ, के गर्नु हुँदैन ?
ग्रहण लागेका बेला हवन, मन्त्र जप, मन्त्र लिने, मन्त्र सिद्धि गर्ने, दान गर्नेलगायत धार्मिक काम गर्न शुभ मानिन्छ । ग्रहण लागेका बेला सुत्न, दिसा, पिसाब, मैथुन गर्न नहुने धर्मसिन्धु, निर्णयसिन्धुलगायत शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।
यसैगरी तेल लगाउन, खानपिन गर्न, कसैलाई बन्धनमा राख्न र मार्न पनि नहुने व्यवस्था छ ।
ग्रहणका समयमा सुते रोगी, दिसा गरे कीरा योनीमा जन्म, पिसाब गरे दरिद्रता, मैथुन गरेर गाउँको सुँगुर भई जन्मनुपर्ने, तेल लगाए कुष्ठरोगी, भोजन गरे अधोगति, कसैलाई बन्धनमा राखे सर्प योनीमा जन्म, मारे नरकमा पर्ने शास्त्रीय भनाइ छ ।