अधिवक्ता न्यौपाने भक्तपुर १ बाट कानून बनाउने स्थान पुग्ने बाटोमा
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १८ सोमबार
797
Shares
भक्तपुर । भक्तपुरको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार किरण न्यौपाने यसपालि चामत्कारिक जितको प्रतिक्षामा छन् । नेपाली कांग्रेसका सक्रिय नेता न्यौपाने कांग्रेसलाई भक्तपुरको पहिलो पार्टी बनाउने अभियानमा निरन्तर सक्रिय रहेका छन् । चाँगुनारायण नगरपालिका वडा नम्बर ३ मा २०३१ सालमा जन्मिएका न्यौपाने २०४७ सालदेखि राजनीतिमा निरन्तर छन् ।
नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको वडा सदस्यबाट राजनीतिक यात्रा प्रारम्भ गरेका न्यौपानेले क्रमशः गाउँ समिति, क्षेत्रीय समिति हुँदै नेविसंघको जिल्ला अध्यक्ष, नेविसंघ केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालेका थिए ।
त्यसपछि पार्टीको गाउँ वडा समिति, गाउँ समिति सचिव, भक्तपुर क्षेत्र नम्बर १को सचिव रही २०६४ को संविधान सभाको निर्वाचन, क्षेत्रिय उपसभापति हुँदा २०७४ सालको निर्वाचनका बेला नेपाली कांग्रेस भक्तपुरको कार्यवाहक सभापति भइ निर्वाचनलाई कुशलतापूर्वक सम्पन्न गराएका थिए ।
नेपाली कांग्रेसको १३औँ महाधिवेशनबाट जिल्ला समिति भक्तपुरको सदस्यमा निर्वाचित भएका न्यौपाने २०७५ भदौ ५ गते जिल्ला सहसचिवमा मनोनित भए ।
व्यवसायिक रूपमा वकालती गर्दै आएका उनी भक्तपुर बार एसोसिएसनका पूर्व सचिव, वैतनिक कानून व्यवसायी रही हाल नेपाल बार एसोसिएसनमा केन्द्रीय सदस्य छन् । उनी नेपाल बारको मानवअधिकार तथा जन सरोकार समितिको सदस्य सचिव पनि हुन् ।
तत्काली दुवाकोट गाविस,चाँगुनारायण नगरपालिका, नेपाल इन्जिनियरिङ् कलेजलगायत विभिन्न सहकारी संघ संस्थाहरूको कानूनी सल्लाहाकार रहेर उदाहरणीय काम गरेका छन् ।
०६२/०६३ सालको प्रतिगमन विरुद्धको जनआन्दोलनका क्रममा २०६२ माघ ६ गते पक्राउ परी नजरबन्दमा राखिएका न्यौपानेलाई ०६२ फागुन ४ गते अदालतको आदेशअनुसार तत्कालीन सरकारले रिहा गरेको थियो ।
पटक पटक प्रहरीको धरपक्कड, गिरफ्तारीमा पर्नु र प्रतिगमनका विरुद्ध भएका अनशन लगायतका कार्यमा सक्रिय भए ।
नेविसंघबाट शुरू भएको राजनीतिक यात्रालाई निरन्तर अघि बढाइरहेका न्यौपाने फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य भक्तपुर क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका छन् ।
किरण न्यौपाने संगठन सुदृढीकरण, लोकतन्त्रको संरक्षण र कांग्रेसलाई जनताको बलियो विकल्पका रूपमा स्थापित गर्ने लक्ष्यका साथ राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएकाले उनको इमान्दारीता र निष्ठाका कारण पनि भक्तपुर १ ले यस पटक सकारात्मक नतिजा दिने आम मतदाताले विश्वास व्यक्त गरेका छन् ।