काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनता अब सचेत भइसकेको र कसैको भ्रममा नपर्ने दाबी गरेका छन्। झापा क्षेत्र नम्बर ५ को चुनावी घरदैलोका क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताले देश बचाउने र देश जलाउने शक्तिहरूलाई चिनिसकेको बताएका हुन्।
अध्यक्ष ओलीले विकास गर्ने र विनाश गर्ने शक्तिबीचको फरक जनताले बुझिसकेको उल्लेख गर्दै देश बचाउने शक्तिलाई अत्यधिक मतले जिताउन आग्रह गरे। उनले दमक र आसपासका क्षेत्रमा भएको विकासको स्मरण गराउँदै यो गतिलाई निरन्तरता दिन सूर्य चिन्हमा मतदान गर्नुपर्नेमा जोड दिए।
सम्बोधनका क्रममा ओलीले भने, "अहिले कस्तो चलेको छ भने एउटा आकाशे हल्ला छ। एक-दुई जना जनता अलिकति अल्मलिन्छन्, अलिकति भ्रममा पर्छन्। कोही-कोही भ्रममा पर्लान् तर आम जनता भ्रममा पर्दैनन्। जनता अब बाठा भइसकेका छन्, सबै देखिसकेका र बुझिसकेका छन्। जनतालाई कसैले छक्काउन खोज्यो भने अब उनीहरू छक्किने वाला छैनन्।"
उनले अगाडि थपे, "जनताले कसले विकास गर्छ, कसले आगो लगाउँछ, कसले देश बचाउँछ र कसले देश जलाउँछ भन्ने कुरा थाहा पाइसकेका छन्। त्यसैले देश जलाउनेलाई होइन, देश बचाउने र विकास गर्नेलाई यस पटकको निर्वाचनमा अझ बढी मतले जिताउनुपर्ने आवश्यकता छ। हामी सबै यस कुरामा सचेत छौँ भन्ने मैले विश्वास लिएको छु।" अध्यक्ष ओलीले अब जनताले नै विकास र विनाश गर्ने शक्तिबीचको फैसला गर्ने बेला आएको समेत बताए।