काठमाडौँ । अमेरिका र इजरायलले इरानी सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको हत्या गरेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसलाई नैतिकता र कानुनको ‘सनकपूर्ण उल्लंघन’ भन्दै कडा आक्रोश व्यक्त गरेका छन्। युक्रेनसँगको युद्धमा तेहरान रुसको सबैभन्दा नजिकको सहयोगीका रूपमा उभिएका बेला मस्कोले यो घटनालाई गम्भीरताका साथ लिँदै आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो।
आइतबार क्रेमलिनमार्फत इरानी समकक्षी मसुद पेजेस्कियनलाई विशेष शोक सन्देश पठाउँदै राष्ट्रपति पुटिनले खामेनीको हत्याले मानव नैतिकता र अन्तर्राष्ट्रिय कानुनका सबै मान्यताहरूलाई कुल्चिएको टिप्पणी गरेका छन्। उनले खामेनीलाई एक उत्कृष्ट राजनीतिज्ञका रूपमा स्मरण गर्दै रुस र इरानबीचको सम्बन्धलाई सुदृढ बनाउन उनको व्यक्तिगत योगदान अतुलनीय रहेको उल्लेख गरेका छन्।
यसै सन्दर्भमा रुसी विदेश मन्त्रालयले पनि एक विज्ञप्ति जारी गर्दै खामेनी र अन्य शीर्ष इरानी अधिकारीहरूको मृत्युप्रति आक्रोश र गहिरो दुःख व्यक्त गरेको छ। रुसले कुनै पनि सार्वभौम राष्ट्रका नेताहरूमाथि हुने राजनीतिक हत्या र आक्रमणको प्रथालाई दृढतापूर्वक निन्दा गर्दै यो घटनाले समग्र मध्यपूर्वमा ‘विध्वंश’ निम्त्याउन सक्ने चेतावनी दिएको छ।
मस्कोले तत्कालका लागि तनाव कम गर्न, जारी शत्रुतापूर्ण गतिविधि अन्त्य गर्न र कूटनीतिक संवादको प्रक्रियामा फर्कन सम्बन्धित पक्षहरूलाई आह्वान गरेको छ। यसअघि शनिबार मात्रै रुसी उच्च कूटनीतिज्ञ सर्गेई लाभरोभ र इरानी विदेशमन्त्री अब्बास अरागचीबीच टेलिफोन वार्ता भएको थियो, जसमा इरानले रुससँग वर्तमान संकटका बारेमा गम्भीर परामर्श गरेको थियो।
रुस र इरानबीच सन् २०२५ मा मात्रै सैन्य मामिला लगायतका क्षेत्रमा सम्बन्ध बलियो बनाउने उद्देश्यले एक महत्वपूर्ण 'रणनीतिक साझेदारी सन्धि' मा हस्ताक्षर भएको थियो। यस्तो रणनीतिक साझेदारीको पृष्ठभूमिमा आफ्ना प्रमुख सहयोगी देशका सर्वोच्च नेताको हत्या हुनुले मस्कोलाई थप चिन्तित बनाएको देखिन्छ। पुटिनले आफ्नो सन्देशमा मृतक खामेनीका आफन्त, प्रियजन र समस्त इरानी जनताप्रति हार्दिक सहानुभूति प्रकट गर्दै यस कठिन घडीमा रुस इरानको साथमा रहेको सन्देश दिएका छन्।