खामेनीको मृत्युपछि चीनको विरोध, सैन्य कारबाही रोक्न आग्रह
आफ्ना नागरिकहरूलाई ‘जतिसक्दो चाँडो’ त्यहाँबाट बाहिर निस्कन पुनः आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १७ आइतबार
3.8k
Shares
काठमाडौँ । अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणमा इरानी सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको मृत्यु भएको घटनाप्रति चीनले कडा शब्दमा विरोध जनाएको छ। चिनियाँ विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इरानमा भइरहेको सैन्य कारबाही तत्काल रोक्न आग्रह गरेको छ।
चीनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यो घटनालाई इरानको सम्प्रभुता र सुरक्षाको गम्भीर उल्लङ्घनका रूपमा टिप्पणी गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “यो हत्या संयुक्त राष्ट्रसङ्घको बडापत्रको उद्देश्य र सिद्धान्त तथा अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यतामाथिको अतिक्रमण हो। चीन यसको कडा विरोध र निन्दा गर्दछ।”
चिनियाँ उच्च कूटनीतिज्ञ वाङ यी र रुसी समकक्षी सर्गेइ लाभरोभबीच भएको टेलिफोन वार्ताका क्रममा पनि चीनले आफ्नो अडान स्पष्ट पारेको छ। वाङले अमेरिका र इजरायलले सार्वभौम नेताको हत्या गरी सत्ता परिवर्तनका लागि उक्साउनु चीनका लागि ‘अस्वीकार्य’ भएको बताएका छन्।
वाङका अनुसार मध्यपूर्वको वर्तमान अवस्थाले यस क्षेत्रको सुरक्षालाई खतरनाक मोडमा धकेल्न सक्ने भन्दै चीन निकै चिन्तित छ। उनले भनेका छन्, “अन्तर्राष्ट्रिय समुदायले यस्ता ‘अराजक गतिविधि’ र विश्व प्रतिगमनको विरुद्धमा स्पष्ट सन्देश पठाउनुपर्छ।”
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार यो हत्याले मानव नैतिकता र अन्तर्राष्ट्रिय कानुनका सबै मान्यताको उल्लङ्घन गरेको बताएका छन्। उनले यस घटनाले विश्व शान्तिमा गम्भीर खलल पुऱ्याउने चेतावनी समेत दिएका छन्।
आक्रमणमा परी कम्तीमा एक चिनियाँ नागरिक घाइते भएको र केही यात्रुहरू अलपत्र परेको बेइजिङले पुष्टि गरेको छ। चीनले इरानमा रहेका आफ्ना नागरिकहरूलाई ‘जतिसक्दो चाँडो’ त्यहाँबाट बाहिर निस्कन पुनः आग्रह गरेको छ।
विदेश मन्त्रालयले चिनियाँ राहदानी वाहकहरूलाई इरानबाट अजरबैजान, अर्मेनिया र टर्की जाने भिसामुक्त स्थलमार्ग प्रयोग गर्न सुझाव दिएको छ। यद्यपि, प्रभावित चिनियाँ नागरिकहरूको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।