arrow

हवाई इतिहासकै ठूलो संकट: युद्धका कारण आधा दर्जन देशको आकाश बन्द, लाखौँ यात्रु विमानस्थलमै अलपत्र

कतार एयरवेजका सबै सेवा स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १७ आइतबार
quatar-ktm-airlines.jpg

काठमाडौँ। अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणपछि मध्यपूर्वका अधिकांश देशहरूले आफ्नो हवाई क्षेत्र आंशिक वा पूर्ण रूपमा बन्द गरेसँगै विश्वव्यापी हवाई यातायातमा कोभिड महामारीपछिकै सबैभन्दा ठूलो अवरोध देखा परेको छ।

इरान, इराक, इजरायल, सिरिया, कुवेत र संयुक्त अरब इमिरेट्सले आफ्नो आकाश नियन्त्रणमा राख्ने घोषणा गरेपछि हजारौँ उडानहरू रद्द वा ढिलाइ भएका छन् भने लाखौँ यात्रुहरू विभिन्न विमानस्थलमा अलपत्र परेका छन्। उड्डयन विश्लेषक कम्पनी सिरियमका अनुसार मध्यपूर्वका चार हजार २१८ उडानमध्ये झन्डै एक हजार उडान रद्द भएका छन् भने आउटबाउन्ड उडानहरू समेत जोड्दा यो संख्या एक हजार ८०० नाघेको छ।

गल्फ क्षेत्रका प्रमुख एयरलाइन्सहरूमध्ये कतार एयरवेजले आफ्ना सम्पूर्ण उडानहरू स्थगित गरेको छ भने एमिरेट्सले ३८ र एतिहादले ३० प्रतिशत उडान रद्द गरेका छन्। सिरिया एयर र इजिप्टएयरले पनि मध्यपूर्वका प्रमुख गन्तव्यहरूका लागि आफ्ना सेवाहरू अर्को सूचना नआउन्जेलका लागि निलम्बन गरेका छन्।

हवाई क्षेत्रको यो असुरक्षाले खाडी मुलुकहरू मात्र नभई युरोप, उत्तर अमेरिका, अफ्रिका र एसिया–प्यासिफिक क्षेत्रका एयरलाइन्सहरूलाई समेत प्रत्यक्ष प्रभाव पारेको छ। ब्रिटिस एयरवेज, एयर फ्रान्स, लुफ्थान्सा, डेल्टा, युनाइटेड, एयर इन्डिया र क्याथे प्यासिफिक लगायतका ठुला कम्पनीहरूले मध्यपूर्वका तनावग्रस्त क्षेत्रहरूमा उडान स्थगित गरेका छन्।

इरान र इजरायलले नागरिक उडानका लागि पूर्ण रूपमा आकाश बन्द गरेपछि रुसी एयरलाइन्स रोसाभिट्सियाले समेत सबै व्यावसायिक उडान रद्द गरेको छ।

अफ्रिकी विमान कम्पनीहरू इथियोपियन र केन्या एयरवेजले पनि मध्यपूर्वका विभिन्न सहरहरूका लागि उडान रोकेका छन्। यसरी विश्वका प्रमुख हवाई मार्गहरू बन्द हुँदा अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रमा गम्भीर चुनौती थपिएको छ भने यसले विश्वव्यापी व्यवसाय र यात्रुहरूको आवागमनलाई नराम्ररी प्रभावित पारेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ