निर्वाचनलाई राष्ट्रिय सङ्कल्पका रूपमा लिऔँ: आईजीपी कार्की
"भयरहित वातावरण बनाउन सामूहिक जिम्मेवारीबोध गरौँ"
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १७ आइतबार
682
Shares
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आगामी निर्वाचनलाई राष्ट्रिय सङ्कल्पका रूपमा लिँदै त्यसलाई भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गराउन सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई सामूहिक जिम्मेवारीबोधका साथ कार्यक्षेत्रमा जुट्न निर्देशन दिएका छन्।
निर्वाचनअघि, निर्वाचनको समयमा र निर्वाचनपश्चात् अपनाउनुपर्ने सुरक्षा सतर्कता तथा समसामयिक विषयमा आज श्रव्यदृश्य (भर्चुअल) माध्यमबाट मातहतका प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै उनले राष्ट्रप्रतिको आफ्नो दायित्वलाई उच्च प्राथमिकतामा राख्न जोड दिए।
महानिरीक्षक कार्कीले सुरक्षा संवेदनशीलताको मसिनो विश्लेषण गरी ठोस रणनीतिसहित कार्यक्षेत्रमा परिचालन हुन निर्देशन दिँदै भरपर्दो सुरक्षा योजना अवलम्बन गर्नुपर्नेमा जोड दिए।
उनले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन अन्य सुरक्षा निकायहरूसँग निरन्तर समन्वय र सहकार्य गर्दै अघि बढ्न प्रहरी कर्मचारीहरूलाई स्पष्ट पारेका छन्। कार्यक्षेत्रमा खटिँदा सामूहिक जिम्मेवारीको भावनाका साथ व्यावसायिकता प्रदर्शन गर्नुपर्ने उनको भनाइ छ।