arrow

यस्तो छ कांग्रेस सभापति थापा र उपसभापति शर्माको आज र भोलिको चुनावी कार्यक्रम 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १६ शनिबार
gagan-vishwaprakash-2079-.jpg
तस्बिर : फाइल

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज शनिबार मधेस प्रदेशका चार जिल्लाका चुनावी सभामा सम्बोधन गर्ने भएका छन् । 

उनले सर्लाहीको ईश्वरपुर, रौतहट र बारा हुँदै पर्साको वीरगञ्जमा पुगेर चुनावी सभालाई सम्बोधन गर्ने भएका हुन् । 

सो क्रममा रोड शोमा पनि सहभागी हुने सभापति थापाको सचिवालयले जनाएको छ । 

त्यस्तै सभापति थापाले आइतबार फागुन १७ गते काठमाडौँ उपत्यकामा हुने कार्यक्रममा सम्बोधन गर्नेछन् । 

गत फागुन ६ गते जनकपुरधाममा पार्टीको प्रतिज्ञा पत्र सार्वजनिक गरेपछि फागुन ७ गते काठमाडौँको राष्ट्रिय सभागृहमा प्रतिज्ञा पत्रबारे चर्चा गर्दै प्रतिज्ञा पत्रबारे उठेका प्रश्नको जवाफ दिएका थिए । 

सभापति थापाले गत बिहीबार सुर्खेत र बाँकेको चुनावी सभालाई सम्बोधन गरेका थिए । त्यस्तै सभापति थापाले शुक्रबार रुपन्देही, कपिलवस्तु, बाग्लुङ र कास्कीमा भएको चुनावी सभालाई सम्बोधन गरेका थिए । 

बुटवलको सभामा उपसभापति पुष्पा भुषाल गौतम पनि थिइन् भने पोखराको सभामा उपसभापति विश्वप्रकाश शर्मा रहेका थिए । 

शनिबार सभापति थापा एक्लै जानेछन् भने आइतबारको सभामा काठमाडौँमा उपसभापति शर्मा सहभागी हुनेछन् ।  

उपसभापति शर्मा आज तीन जिल्ला घुम्ने कार्यक्रम रहेको छ । शुक्रबार पोखरामा बसेका उपसभापति शर्मा शनिबार पहिले गुल्मीको कार्यक्रममा सम्बोधन गर्नेछन् । त्यसपछि डोल्पा जानेछन् । 

डोल्पाबाट अछाममा दुई ओटा कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको उपसभापतिको सचिवलायले जनाएको छ । 

आजै साँझ उपसभापति शर्मा काठमाडौँ फर्कने छन् । सचिवालयका अनुसार मध्यान्ह १२ बजे गुल्मीको छत्रदेव, दिउँसो १ बजे डोल्पाको जुफाल, २ बजे अछामको साँफेबगर, ३ः१५ बजे अछामको कमलबजार जानेछन् भने अपरान्ह ४ः२० बजे कमलबजारबाट काठमाडौँ फर्कने कार्यक्रम रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ