होली मनाउँदा आचारसंहिताको ख्याल गर्न प्रशासनको आग्रह, सार्वजनिक स्थलमा मेला-महोत्सवमा रोक
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १५ शुक्रबार
763
Shares
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले होली पर्व मनाउँदा शान्तिसुरक्षा र आसन्न निर्वाचनलाई ध्यानमा राख्न आग्रह गर्दै सार्वजनिक स्थलमा भीडभाड, मेला-महोत्सव तथा मदिरा बिक्री-वितरण नगर्न आग्रह गरेको छ।
कार्यालयद्वारा जारी सूचनामा आफ्नो घरभित्र परिवार र साथीभाइसँग होली मनाउन बाधा नपर्ने स्पष्ट पारिएको छ। तर, खुला सडक र सार्वजनिक स्थानमा अनावश्यक भीड जम्मा गर्ने, ठुला कार्यक्रम आयोजना गर्ने र मदिरा सेवन तथा वितरण गर्ने कार्य नगर्न प्रशासनले अनुरोध गरेको छ।
विशेषगरी आसन्न निर्वाचनलाई लक्षित गर्दै लागू भएको निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयनमा प्रशासनले जोड दिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा जारी सूचनामा होलीका अवसरमा जुलुस, आमसभा वा प्रचारप्रसारमा उम्मेदवारको निर्वाचन चिह्न, झण्डा, स्टिकर अङ्कित टोपी, टी–सर्ट, ज्याकेट वा झोला जस्ता सामग्री प्रयोग गर्न नपाइने उल्लेख गरिएको छ।
आचारसंहिताविपरीतका गतिविधि नगर्न आग्रह गर्दै प्रशासनले कसैको इच्छाविपरीत रङ वा पानी हाल्ने, मदिरा सेवन गरी सार्वजनिक मर्यादा भङ्ग गर्ने, हो–हल्ला तथा अराजक गतिविधि गर्ने काम कानुनविपरीत हुने चेतावनी दिएको छ। यस्ता गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गरिने समेत प्रशासनले जनाएको छ।