arrow

निर्वाचन आयोगको सुरक्षा नीति: आजदेखि मदिरा निषेध, २१ गते हवाई उडान चालु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १५ शुक्रबार
election-2082-new.jpg

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा र व्यवस्थापनलाई मध्यनजर गर्दै आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि देशभर मादक पदार्थको बिक्री-वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाएको छ। निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले पारित गरेको सुरक्षा योजनाअनुसार आयोगले गृह मन्त्रालयलाई यस्तो कडा कदम चाल्न निर्देशन दिएको हो। सुरक्षाको समग्र अवस्था र वस्तुस्थितिको विश्लेषणपछि चालिएको यो कदमको पूर्ण पालना गराउन गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई स्पष्ट निर्देशन पठाइसकेको छ।

जिल्ला आचारसंहिता अनुगमन समितिले तोकिएका संयन्त्र परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन र निर्वाचन आचारसंहिता बमोजिम निषेध गरिएका कार्य हुन नदिने व्यवस्था मिलाएको छ। कतै आचारसंहिता विपरीतका गतिविधि भएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गरी आयोगलाई जानकारी गराउन समेत निर्देश गरिएको छ। मतदानको दिन फागुन २१ गते अत्यावश्यक सेवाका सवारीसाधनहरू जस्तै एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षा निकायका साधन र मर्मतसम्भारका सवारीसाधनहरू भने निर्वाध रूपमा चल्न पाउनेछन्। सार्वजनिक तथा निजी सवारीसाधनको हकमा भने फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्मका लागि रोक लगाउने निर्णय भएको छ।

हवाई यातायातको सन्दर्भमा भने अन्तर्राष्ट्रिय र आन्तरिक उडानहरू यथावत् सञ्चालन हुनेछन्। हवाई टिकट भएका यात्रुहरूलाई विमानस्थलदेखि होटल वा घरसम्म र होटलदेखि विमानस्थलसम्म आवतजावत गर्न निजी वा सम्बन्धित एयरलाइन्सका सवारीसाधन प्रयोग गर्न दिने सहज व्यवस्था मिलाइएको छ। मतदानमा भाग लिनका लागि मतदाता नामावलीमा नाम भएका नागरिकले आयोगले तोकेका विभिन्न आधिकारिक परिचयपत्रहरू मध्ये कुनै एक साथमा राख्नुपर्नेछ। मतदाताले आफ्नो मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपुर्जा वा सवारी चालक अनुमतिपत्र देखाएर मतदान गर्न सक्नेछन्।

मतदानका दिन आवश्यक पर्ने सवारी पास वितरणका लागि आयोगको सचिवालय परिसरमा छुट्टै एकाइ स्थापना गरिने भएको छ। उक्त एकाइमा निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौँका कर्मचारीहरू खटिनेछन्। यसैबीच, मतदाता नामावलीमा नाम भएका सबै मतदाताले ढुक्क भएर मतदान गर्न पाउने वातावरण सुनिश्चित गर्न सुरक्षाकर्मी र कर्मचारीहरूलाई समेत आवश्यक सूचना सम्प्रेषण गरिसकिएको आयोगले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ