arrow

कांग्रेसले आज सुर्खेत र बाँकेमा चुनावी सभा गर्दै, शीर्ष पदाधिकारीहरूको सम्बोधन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १४ बिहिबार
congress-flag2.jpg
तस्बिर : फाइल

काठमाडौँ । प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले आज एकै दिन सुर्खेत र बाँकेमा चुनावी सभा गर्दैछ । गत फागुन ६ गते कांग्रेसले जनकपुरमा पहिलो चुनावी सभा गरी प्रतिज्ञापत्र सार्वजनिक गरेको थियो।

सुर्खेत र बाँकेमा आजको चुनावी सभामा सभापति गगनकुमार थापा तथा उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुप्षा भुषाल गौतमसँगै नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

प्रवक्ता चालिसेका अनुसार सभापति थापासहितका शिर्ष नेताहरू हेलिकप्टर मार्फत चुनावी सभामा पुग्ने छन् । यस्तै ती सभाहरुमा सम्बन्धित प्रदेश भित्रका प्रतिनिधि सभा निर्वाचन क्षेत्रका उम्मेदवार तथा स्थानीय नेताहरू पनि सहभागी हुने छन् ।

कांग्रेसले शुक्रबार बिहान ११ बजे रूपन्देहीको बुटवलमा तथा दिउँसो कास्कीको पोखरामा चुनावी सभा गर्दैछ । साथै फागुन १७ गते काठमाडौँमा चुनावी सभा गर्ने तयारी गरेको छ।

कस्तो छ सुर्खेतको तयारी ?

सुर्खेतको घण्टाघर डबलीमा हुने आमसभालाई कांग्रेसका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् । कांग्रेस कर्णाली प्रदेशका महामन्त्री निरन्जन केसीका अनुसार आमसभाका लागि कर्णालीका सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख र कालिकोट जिल्लाबाट समर्थकहरूलाई सुर्खेत आउन कांग्रेसले आह्वान गरेको छ। 

यस सभाले समग्र कर्णाली प्रदेशमा कांग्रेसको पक्षमा चुनावी माहोल सिर्जना गर्न ठूलो मद्दत पुग्ने पार्टीको विश्वास छ। सभाको प्रचार-प्रसार व्यापक पारिएको र ठूलो सङ्ख्यामा जनसहभागिता रहने महामन्त्री केसीले बताए।

सुर्खेत नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गृहजिल्ला हो। यसपटक सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा खड्काका भाइ विष्णुबहादुर खड्का उम्मेदवार बनेका छन्। आफ्नै भाइ चुनावी मैदानमा भए पनि पूर्णबहादुर खड्का अहिलेसम्म चुनाव प्रचारका लागि सुर्खेत गएका छैनन् ।

विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेपछि सो निर्णयविरुद्ध निर्वाचन आयोग र अदालत पुगेका खड्का आन्तरिक विवादका कारण चुनाव प्रचारमा नआएको चर्चा राजनीतिक वृत्तमा भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ