arrow

एसियन हाइवेको झापा खण्डमा आठ किलोमिटर कालोपत्र सम्पन्न

असारसम्म ३० किमी सक्ने लक्ष्य

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १३ बुधबार
asian-highway-pitch.jpg

काठमाडौँ  । निर्माणाधीन ‘एसियन हाइवे’ को काँकडभिट्टा–लौकही सडकखण्ड अन्तर्गत विभिन्न स्थानमा गरी आठ किलोमिटर सडकमा पहिलो तहको कालोपत्र सम्पन्न भएको छ। काँकडभिट्टादेखि केरखासम्मको ४५ किलोमिटर क्षेत्रमा सडकको दुवैतर्फ कालोपत्रको काम तीव्र गतिमा अघि बढिरहेको आयोजना कार्यालयले जनाएको छ।

पूर्वी खण्ड दमक कार्यालयका आयोजना प्रमुख सुनिलबाबु पन्तका अनुसार हालसम्म कुल चार हजार ५९५ मिटर (साढे चार किमीभन्दा बढी) सडक पूर्ण रूपमा कालोपत्र भइसकेको छ। मेचीनगर, विर्तामोड, शिवसताक्षी र कमल गाउँपालिका क्षेत्रका विभिन्न खण्डमा दायाँतर्फ १,२८० मिटर र बायाँतर्फ २,७५५ मिटर लेनमा पहिलो सतहको कालोपत्र गरिएको उनले जानकारी दिए। आयोजनाले आगामी असार मसान्तसम्म ३० किलोमिटर सडकको दुवैतर्फ पहिलो चरणको कालोपत्र गरिसक्ने लक्ष्य राखेको छ।

सडक निर्माणसँगै सहरी क्षेत्रमा ट्राफिक व्यवस्थापन सहज बनाउन आधुनिक ‘ओभरपास’ निर्माण भइरहेको छ। मेचीनगरको चारआली चोक र विर्तामोडको चारपानेमा ओभरपासका संरचनाहरू तयार पारिँदैछन्।

यसैगरी, वन्यजन्तु संरक्षणलाई प्राथमिकता दिँदै चारआली जङ्गल क्षेत्रमा हात्ती लगायतका जङ्गली जनावर सहजै ओहोरदोहोर गर्नका लागि ‘एनिमल अन्डरपास’ पुल निर्माण भइरहेको छ। यसलाई नेपालकै सडक पूर्वाधारमा प्रयोग गरिएको आधुनिक र वातावरणमैत्री नमुना मानिएको छ।

एसियाली विकास बैंकको १० अर्ब रुपैयाँ सहयोगमा सुरु भएको यस आयोजनाको ठेक्का एभ्रास्कन कालिका जेभीले लिएको छ। निर्माण कम्पनीले सडकका साथै कल्भर्ट र साना पुलहरूको कामलाई पनि सँगसँगै अगाडि बढाएको छ।

यद्यपि, मुख्य सहरी क्षेत्रमा अझै करिब ४०० वटा विद्युत्का पोल सार्न बाँकी रहँदा काममा केही अवरोध देखिएको छ। विद्युत् प्राधिकरणसँग समन्वय भइरहेको र पोल सार्नेबित्तिकै ती क्षेत्रमा पनि कामले गति लिने आयोजना प्रमुख पन्तले बताए।

काँकडभिट्टादेखि लौकहीसम्मको ९५.७६ किलोमिटर लामो यो राजमार्ग सहरी क्षेत्रमा ६ लेन र ग्रामीण क्षेत्रमा ४ लेनको हुनेछ। यसको प्रभावकारी कार्यान्वयनका लागि सरकारले दमक र इटहरीमा छुट्टाछुट्टै कार्यालय स्थापना गरी कामलाई तीव्रता दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ