निर्वाचन सुरक्षाका लागि नेपाली सेनाको कमाण्ड, हवाई गस्तीदेखि मतगणनासम्मको जिम्मा
प्रतिनिधिसभा निर्वाचनका लागि सेनाको त्रि-स्तरीय सुरक्षा योजना, ७५ जिल्लामा सामग्री ढुवानी सम्पन्न
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १३ बुधबार
797
Shares
काठमाडौँ । नेपाली सेनाले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पूर्व, मध्य र पश्चात् गरी तीन चरणमा भरपर्दो सुरक्षा प्रबन्ध मिलाएको छ। राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस र मन्त्रिपरिषद्को निर्णयका आधारमा राष्ट्रपतिबाट स्वीकृति प्राप्त भएसँगै सेनाले विगतका निर्वाचनहरूमा जस्तै यसपटक पनि विस्तृत सुरक्षा योजना कार्यान्वयनमा ल्याएको हो। सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार निर्वाचन केन्द्रित विशेष तालिम र संयुक्त अभ्यासहरू सफलतापूर्वक सम्पन्न भइसकेका छन् भने सेनाले मतपत्र छपाइ सुरक्षाको जिम्मेवारी समेत पुरा गरिसकेको छ।
निर्वाचन आयोगले ७५ जिल्लामा निर्वाचन सामग्री ढुवानी भइसकेको जानकारी दिएको छ भने बाँकी जिल्लाहरूमा पनि चाँडै मतपत्र पुर्याउने लक्ष्य राखिएको छ। भौगोलिक विकटताका आधारमा पाँच जिल्लामा हवाई माध्यम र अन्य जिल्लामा स्थलमार्गबाट सामग्री ढुवानी गरिएको हो। सेनाले २०४८ सालदेखि नै मतपत्र छपाइ र ढुवानीको सुरक्षा व्यवस्था सम्हाल्दै आएको लामो अनुभव बटुलेको छ।
सुरक्षा व्यवस्थाको एकीकृत योजनाअनुसार सेना निर्वाचनको समयमा तेस्रो घेरामा रहनेछ। यसका साथै मतदान सकिएपछि मतपेटिकालाई गणना स्थलसम्म पुर्याउन र मतगणनाका क्रममा बाहिरी घेरामा बसेर सुरक्षा दिने कार्यमा सेना परिचालित हुनेछ। निर्वाचनलाई भयरहित, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न हवाई गस्ती, शङ्कास्पद वस्तुहरूको निष्क्रियता तथा आवश्यकताअनुसार थप फौज परिचालनको तयारी समेत गरिएको छ।
सेनाले देशभरका विभिन्न स्थानमा अस्थायी बेसहरू स्थापना गरी नियमित गस्ती बढाएको छ भने स्थानीय प्रशासन र अन्य सुरक्षा निकायहरूसँग निरन्तर समन्वय गरिरहेको छ। भौगोलिक रूपमा कठिन र हिउँ परेका स्थानहरूमा बाटो सफा गरेर निर्वाचन सामग्री पुर्याउने र जनमानसको सहजताका लागि सहयोग गर्ने काममा पनि सेना खटिएको छ। यसबाहेक कारागार, विमानस्थल र सरकारी कार्यालयजस्ता ११६ वटा महत्त्वपूर्ण संरचनाको सुरक्षाको जिम्मा समेत सेनाले लिएको छ।
प्रधानसेनापति अशोकराज सिग्देलले विभिन्न कमान्ड सेन्टर र फिल्डमा खटिएका फौजहरूको स्थलगत निरीक्षण गर्दै आवश्यक निर्देशन दिइरहनुभएको छ। सैनिक प्रवक्ता बस्नेतले सेना निर्वाचन आचारसंहिता र मानवअधिकारको पूर्ण पालना गर्दै शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ। विश्व शान्ति स्थापनाका क्रममा विभिन्न द्वन्द्वग्रस्त मुलुकमा समेत निर्वाचन गराएको अनुभव रहेको नेपाली सेनाको सक्रियताले यसपटकको निर्वाचन पनि सुरक्षित वातावरणमा सम्पन्न हुने अपेक्षा गरिएको छ।