दक्षिण-पूर्वी एसियामा नेपाली युवालाई 'साइबर दास' बनाइँदै, तीन सय नौ जना उद्धारको पर्खाइमा
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १३ बुधबार
779
Shares
काठमाडौँ । सूचना प्रविधिको क्षेत्रमा आकर्षक रोजगारीको प्रलोभन देखाई नेपाली नागरिकलाई दक्षिण-पूर्वी एसियाका विभिन्न देश पुर्याएर ‘अनलाइन स्क्यामिङ’ (ठगी) मा फसाउने कार्य भयावह रूपमा बढेको छ। मुलुकको बेरोजगारीको फाइदा उठाउँदै विभिन्न गिरोहले नेपाली युवालाई थाइल्याण्ड, म्यानमार, कम्बोडिया, लाओस र भियतनाम पुर्याएर बन्धक बनाउने गरेको पाइएको छ।
बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा सहसचिव प्रकाश अधिकारीले नेपाली नागरिकहरू ती देशका अनलाइन स्क्यामिङ सेन्टरमा बन्धक र शोषणमा पर्ने गरेको जानकारी दिए। उनका अनुसार विशेषगरी कम्प्युटर सम्बन्धी ज्ञान भएका र युएई तथा मलेसियामा कार्यरत नेपालीहरू यस्ता गिरोहको निशानामा बढी पर्ने गरेका छन्।
आकर्षक तलबको आश्वासनमा उनीहरूलाई अनलाइन बेटिङ, क्यासिनो, गेमिङ, फिसिङ तथा क्रिप्टो ठगी जस्ता गतिविधिमा लगाइने गरेको अधिकारीले बताए। "तोकिएको लक्ष्य (टार्गेट) पूरा गर्न नसकेमा शारीरिक तथा मानसिक यातना दिने, राहदानी खोस्ने र हिँडडुलमा प्रतिबन्ध लगाउने गरेको पाइएको छ," उनले भने। उजुरीका अनुसार कतिपय अवस्थामा आफ्नो सट्टामा अर्को व्यक्ति नआएसम्म छुटकारा समेत नदिने गरी 'साइबर दासता' मा राख्ने गरिएको छ।
मन्त्रालयका अनुसार हालसम्म थाइल्याण्ड र म्यानमारका स्क्यामिङ केन्द्रबाट ३ सय ९२ जना नेपालीको उद्धार गरी स्वदेश फर्काइएको छ। थप ३ सय ९ जना उद्धार प्रक्रियामा छन्, जसमध्ये ३० जना म्यानमारको केन्द्रमा पालो कुरिरहेका छन्। गैरकानूनी रूपमा म्यानमार प्रवेश गरेका १८ जना नेपालीलाई त्यहाँको अदालतले एक वर्षको जेल सजाय सुनाएको र उनीहरूलाई रिहा गराउन कूटनीतिक पहल भइरहेको अधिकारीले जानकारी दिए।
मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार कम्बोडियामा मात्रै २ सय ४८ जना नेपाली उद्धारको पर्खाइमा छन्। तथ्याङ्कले हरेक वर्ष यो सङ्ख्या बढ्दै गएको देखाउँछ। आर्थिक वर्ष २०८०/८१ मा ६८ जनाको उद्धार गरिएकोमा त्यसपछिको वर्ष १५६ र चालु आर्थिक वर्षको हालसम्म १६८ जना पुगिसकेको छ।
"२० देखि २५ वर्ष उमेर समूहका, कम्प्युटर र अङ्ग्रेजी भाषा जान्ने युवाहरू यसको बढी सिकार भएका छन्," क्षेत्रीले भने। कतिपय श्रम स्वीकृति लिएर त कतिपय भ्रमण भिसामा त्यहाँ पुगेका छन्। अचम्मको कुरा त के छ भने, अधिकांश पीडितहरू गाउँघरका आफन्त वा चिनजानकै व्यक्तिमार्फत ती केन्द्रमा पुग्ने गरेका छन्।
मन्त्रालयले सन् २०२२ यता हालसम्म ५ वटा ट्राभल एडभाइजरी र १२ वटा विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारीको नाममा हुने यस्ता ठगीबाट जोगिन युवाहरूलाई विशेष सचेत रहन आग्रह गरेको छ।