नौबिसे-नागढुङ्गा सडकको काम अन्तिम चरणमा, ३५ दिनभित्र मुख्य काम सक्ने लक्ष्य
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १३ बुधबार
667
Shares
धादिङ । धादिङ जिल्लामा निर्माण भइरहेको नौबिसे-नागढुङ्गा सडक खण्डको काम अन्तिम चरणमा पुगेको छ। आयोजनाका अनुसार हालसम्म कुल ८५ प्रतिशत काम सम्पन्न भइसकेको छ।
आयोजना प्रमुख केशवप्रसाद ओझाका अनुसार पहिलो प्याकेज अन्तर्गत १२.५ किलोमिटर सडक र दुईवटा पुल निर्माणको जिम्मेवारी थियो। सोही बमोजिम धेरैजसो काम सकिएको र अबको ३५ दिनभित्र तेस्रो तहको कालोपत्रे तथा खानीखोलामा आकाशे पुल निर्माण गरिने उनले बताए। अन्तिम तहको कालोपत्रे सकिएपछि सडक सुरक्षाका मापदण्ड, ट्राफिक सङ्केत र रङ्गरोगनको काम सुरु हुने आयोजनाले जनाएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र त्यसअघि पर्ने होली पर्वका कारण निर्माण कार्यमा केही प्रभाव पर्न सक्ने आयोजनाको भनाइ छ। सगुन कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक सहदेव खड्काले पनि निर्वाचनका कारण काममा केही ढिलाइ हुन सक्ने बताए। यसअघि सडकमा रहेका विद्युत्का पोलहरू सार्न समय लागेकाले पनि निर्माण कार्य प्रभावित हुँदै आएको थियो।
खानीखोला क्षेत्रमा रहेको टहरा विवादका कारण आकाशे पुल निर्माणमा केही समय ढिलाइ भएको थियो। सडक निर्माणका क्रममा स्थानीय बासिन्दाको फरक-फरक बुझाइले समाज विभक्त हुँदा समस्या सिर्जना हुने गरेको आयोजनाको अनुभव छ। यद्यपि, हाल अधिकांश स्थानीयलाई सार्ने काम सकिएकाले अब कामले गति लिने विश्वास लिइएको छ।
२०७९ सालबाट निर्माण सुरु गरिएको यो आयोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। यो सडक खण्ड सञ्चालनमा आएपछि काठमाडौँ भित्रिने र बाहिरिने सवारी साधनको चापमा ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ। –न्युज एजेन्सी नेपाल