arrow

पाँच वर्षभित्र सबै वडामा पक्की सडकसहित मनोज गुरुङको संकल्प

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १२ मंगलबार
manoj-gurung-conggress.jpg

पोखरा । कास्की क्षेत्र नं ३ का कांग्रेस उम्मेद्वार मनोज गुरुङले पाँच वर्षभित्र निर्वाचन क्षेत्रका सबै वडा कार्यालयसम्म पक्की सडक पुर्याउने प्रतिबद्धता जनाएका छन् । 

चुनावी घरदैलो अभियानका क्रममा मतदाताहरूसँग अन्तरक्रिया गर्दै गुरुङले वडा कार्यालय जोड्ने सडक सञ्जाललाई पहिलो प्राथमिकतामा राखेको बताएका हुन् । 

उनले सांसदको भूमिका नीति निर्माणमा केन्द्रित हुने भए पनि आफ्नो क्षेत्रको पूर्वाधार विकासका लागि संसदबाटै विशेष पैरवी गर्ने स्पष्ट पारे ।

‘हाम्रो क्षेत्रका ३१ ओटै वडाका केन्द्रसम्म कालोपत्रे वा ढलान सडक पुर्याउनु मेरो मुख्य लक्ष्य हो,’ गुरुङले भने।

उनले  थपे, ‘म निर्वाचित भएपछि पाँच वर्षभित्र सबै वडा कार्यालयमा पक्की सडक पुग्ने गरी नीतिगत व्यवस्था गर्न र बजेट विनियोजन गर्न म लाग्नेछु ।’ 

कास्की-३ अन्तर्गत ३१ ओटा वडाहरू पर्दछन् । तीमध्ये सबै वडामा सडकको ट्याक खुलिसकेको छ । तर, अन्नपूर्ण गाउँपालिकाका अधिकांश वडा र माछापुच्छ्रे गाउँपालिकाका चार ओटा वडामा अझै पनि पक्की सडक पुग्न सकेको छैन । संघ, प्रदेश र स्थानीय गरी तीनै सरकारको समन्वयमा सडक कालोपत्रे र ढलान गर्ने उनको प्रतिबद्धता छ । 

गुरुङले ती क्षेत्रहरूमा बाह्रै महिना सहज यात्रा गर्न मिल्ने गरी सडक स्तरोन्नति गर्ने योजना अघि सारेका छन् । 

‘हामी सांसदका लागि चुनाव लड्दैछौँ । मैले यो विकास गर्छु भन्ने होइन, विकासको नीति बनाउने हो,’ उनले भने।

गुरुङले भने, ‘आफ्ना जनप्रतिनिधिसँग जनताका विकासे अपेक्षा पनि हुन्छन् । जनताका विकासे आपेक्षालाई सम्बोधन गर्न म नीतिगत पैरवी गर्नेछु ।’ 

उनले ग्रामीण भेगका सडकहरू वर्षायाममा हिलाम्मे भएर एम्बुलेन्स समेत नगुड्ने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाए । 

‘गाउँका बिरामीलाई अस्पताल लैजाँदा बाटोमै एम्बुलेन्स फस्ने दिनको अन्त्य हुनुपर्छ । त्यसका लागि म बाह्रै महिना चल्ने सडक निर्माणका लागि सम्बन्धित निकायमा निरन्तर दबाब दिनेछु,’ उनले भने । 

लामो समय समाजसेवामा सक्रिय रहेर पहिलोपटक संसदीय राजनीतिमा होमिएका गुरुङले आफू निर्वाचित भएपछि पार्टीगत पूर्वाग्रह नराख्ने स्पष्ट पारेका छन् । 

उनले यसअघिका जनप्रतिनिधिले शुरू गरेका तर पूरा नभएका अधुरा योजनाहरूलाई पनि अपनत्व लिएर पूरा गर्ने बताए ।

‘जसले शुरू गरेको भए पनि योजना यही भूगोलका लागि हुन् । यहाँका जनताका लागि हुन् । ‘विकासमा राजनीति गर्नु हुँदैन’, गुरुङ भन्छन्, ‘अधुरा र अपुरा रहेका सबै योजनाको जिम्मा म लिन्छु । आवश्यकता र प्राथमिकताका आधारमा तिनलाई पूर्णता दिने दायित्व मेरो हो ।’ 

स्थानीयको माग र आवश्यक्ताकै आधारमा विकास निर्माणका कामलाई प्राथमिकता दिने उनको प्रतिबद्धता छ । 

कतिपय विकासका योजनामा संरक्षण क्षेत्र बाधक बनेको भन्दै उनले त्यसमा भएका गाँठा फुकाउन पनि संसद र सरकारको ध्यानाकर्षण गराउने बताए । 

कास्की-३ का अधिकांश भूगोल अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्छन् । जसका कारण धेरैजसो सडक फराकिला हुन सकेका छैनन् । 

चुनावी प्रचार अभियानका क्रममा उनलाई सबै ठाउँका मतदाताले स्वागत गर्दै जितको शुभकामना दिएका छन् ।

समाजसेवासँगै राजनीति गरिरहेका मनोज पहिलो पटक संसदीय निर्वाचनमा होकिएका हुन् । गुरुङलाई कास्की-३ मा बलिया उम्मेद्वारको रुपमा चर्चा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ