सर्लाहीमा वडाध्यक्षको 'यु-टर्न': जसपा फर्केका गुप्ता फेरि गगन थापाको प्रचारमा
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १२ मंगलबार
741
Shares
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–५ का वडाध्यक्ष प्रकाश प्रसाद गुप्ताको अस्थिर राजनीतिक कदमले स्थानीय राजनीतिमा निकै चर्चा पाएको छ। गत माघ १४ गते जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका गुप्ताले २४ घण्टा नबित्दै 'आफूलाई झुक्क्याएर कांग्रेस प्रवेश गराइएको' दाबी गर्दै पुरानै पार्टीमा फर्केको भिडियो सार्वजनिक गरेका थिए।
त्यतिबेला उनले आफूलाई सम्मान गर्ने बहानामा बोलाएर झुक्याउँदै पार्टी प्रवेश गराएको आरोप समेत कांग्रेस नेताहरूमाथि लगाएका थिए। तर, पछिल्ला दिनहरूमा उनी फेरि नेपाली कांग्रेसकै पक्षमा सक्रिय देखिएका छन्।
हाल वडाध्यक्ष गुप्ता सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार एवं कांग्रेस सभापति गगन थापाको चुनावी कार्यक्रमहरूमा मात्र देखिएका छैनन्, उनीसँगै काँधमा काँध मिलाएर मत माग्न घरदैलोमा समेत व्यस्त छन्।
यस विषयमा जिज्ञासा राख्दा वडाध्यक्ष गुप्ताले आफूले गगन थापालाई नै सहयोग गर्ने स्पष्ट पारेका छन्। उनले भने, "म हिजोआज निरन्तर रूपमा गगन दाईकै चुनावी प्रचार-प्रसारमा छु र मेरो समर्थन तथा मत उनैलाई हुनेछ।"