निर्वाचन आचारसंहिता पालनामा आयोगको कडाइ: को–को छन् दायरामा ?
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १२ मंगलबार
635
Shares
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै निर्वाचन आयोगले आचारसंहिता लाग्ने व्यक्ति, समूह र संस्थाहरूलाई आफ्नो दायित्वबारे पुनःस्मरण गराएको छ। पछिल्ला दिनहरूमा आचारसंहिता उल्लङ्घनका घटनाहरू र उजुरीहरू बढ्न थालेपछि आयोगले थप सक्रियता देखाएको हो।
निर्वाचन आयोगका अनुसार नेपाल सरकार, प्रदेश सरकार र तिनका मन्त्रीहरू, स्थानीय कार्यपालिका र तिनका सदस्यहरूलाई पूर्ण रूपमा आचारसंहिता लाग्नेछ। यस्तै, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाका पदाधिकारी र कर्मचारीहरू पनि यसको दायरामा रहेका छन्।
आयोगले विद्यालय, महाविद्यालय तथा विश्वविद्यालयका शिक्षक र कर्मचारीहरूलाई पनि सचेत गराएको छ। सञ्चार प्रतिष्ठान, सञ्चारकर्मी, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी र व्यापारिक एवं औद्योगिक क्षेत्रका पदाधिकारी तथा कर्मचारीहरूलाई समेत आचारसंहिता पूर्ण रूपमा लागू हुने आयोगले स्पष्ट पारेको छ।
राजनीतिक दल, तिनका भ्रातृ सङ्गठन, उम्मेदवार, निर्वाचन प्रतिनिधि तथा मतगणना प्रतिनिधिहरूलाई आचारसंहिता पालना गर्न भनिएको छ। साथै, निजी तथा गैरसरकारी संस्था, वस्तु तथा सेवा प्रदायक व्यावसायिक संस्था र विकास साझेदार संस्थाका कर्मचारीहरूले पनि निर्वाचनको निष्पक्षता कायम राख्न आचारसंहिताको पालना गर्नुपर्नेछ।
संवैधानिक निकायका पदाधिकारी, सुरक्षा निकाय, सुरक्षाकर्मी, र सार्वजनिक पद धारण गरेका व्यक्तिहरूलाई समेत आयोगले आफ्नो दायरामा राखेको छ। मतदाता, पर्यवेक्षण संस्था, पर्यवेक्षक र मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्थाहरूलाई समेत आचारसंहिताको ख्याल गर्न भनिएको छ।
स्थानीय कार्यपालिकाका पदाधिकारीहरू आचारसंहिता विपरीत प्रचारप्रसारमा संलग्न भएको पाइएपछि आयोगले आइतबार र सोमबार पटक–पटक सूचना जारी गरी सरकारी तथा निजी दुवै क्षेत्रलाई सचेत गराएको हो। आयोगले आचारसंहिता उल्लङ्घन गर्नेलाई कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ।