सुरक्षा व्यवस्था मजबुत छ, निर्धक्क भएर मतदान गर्नुस्: गृहमन्त्री अर्याल
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १० आइतबार
605
Shares
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सरकारले सुरक्षा व्यवस्था अत्यन्त सुदृढ बनाएको दाबी गर्दै आम मतदातालाई निर्धक्क भएर मतदानमा सहभागी हुन आह्वान गरे। राष्ट्रिय समाचार समितिसँगको कुराकानीमा मन्त्री अर्यालले निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सरकारले एकीकृत सुरक्षा योजना लागू गरिसकेको जानकारी दिँदै सुरक्षा व्यवस्थालाई देशैभरि सबल बनाइएको उल्लेख गरे।
सरकारको प्रमुख प्राथमिकता तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु रहेको स्पष्ट पार्दै उनले निर्वाचनका लागि म्यादी प्रहरी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरूलाई व्यवस्थित रूपमा परिचालन गरिएको बताए। निर्वाचनलाई लक्षित गरी केन्द्र, प्रदेश र जिल्ला स्तरमा कमान्ड पोस्टहरू स्थापना गरिएका छन्। एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन सेलहरूले दिनहुँ सुरक्षा चुनौतीको विश्लेषण गरिरहेकाले हालै देखिएका केही छिटपुट झडपका घटनाले निर्वाचन प्रक्रियामा कुनै असर नपर्ने उनको दाबी छ।
मन्त्री अर्यालले गत भदौको 'जेनजी' आन्दोलनका क्रममा देखिएका सुरक्षा चुनौतीहरू अहिले समाधान भइसकेको जानकारी दिए। सो समयमा भागेका अधिकांश कैदीबन्दी र लुटिएका हतियारहरू फिर्ता भइसकेकाले अब कुनै सुरक्षा भय नरहेको उनले स्पष्ट पारे। संविधानअनुसार संसद् विघटन भएको ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्नुपर्ने प्रावधान रहेकाले फागुन २१ को निर्वाचनबाट पछि हट्ने छुट सरकारलाई नरहेको र यो निर्वाचनलाई सरकारले आफ्नो निष्ठाको जाँचको रूपमा लिएको उनले बताए।
विशिष्ट परिस्थितिमा बनेको वर्तमान सरकारले संवैधानिक रिक्ततालाई पूर्ति गर्न र प्रजातान्त्रिक प्रणालीलाई सुदृढ बनाउन अर्जुनदृष्टि राखेको उल्लेख गर्दै मन्त्री अर्यालले निर्वाचन सार्ने खालका कुनै पनि भ्रमपूर्ण भाष्य वा प्रवृत्तिलाई राज्य संयन्त्रले निस्तेज पार्ने चेतावनी दिए। निर्वाचन आयोगसँगको समन्वयमा सम्पूर्ण तयारी पूरा भइसकेकाले अब मतदानका लागि उत्साहजनक अवस्था सिर्जना भएको उनको भनाइ छ। प्रजातान्त्रिक प्रक्रियाबाट सत्ता हस्तान्तरण गर्ने शपथ खाएको सरकारले शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न कुनै पनि दायाँबायाँ नगर्ने दृढता व्यक्त गर्दै मन्त्री अर्यालले सही पात्र छनोट गरी मुलुकको प्रणाली बलियो बनाउन सबै देशवासीलाई मतदानमा सहभागी हुन पुनः आग्रह गरे।