मुगु । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि चाहिने आवश्यक मतपत्रसहित ११ प्रकारका निर्वाचन सामग्री मुगु आइपुगेको छ ।
निर्वाचन आयोगले सुर्खेतदेखि नेपाली सेनाको हेलिकप्टरमार्फत ढुवानी गरी फागुन २१ गते हुने प्रतिनिधि सभाका निर्वाचनका लागि ४० हजार समानुपातिक र ३९ हजार प्रत्यक्षतर्फका मतपत्रसहितका निर्वाचनका लागि चाहिने सुइ, धागो, स्वस्तिक, छाप, स्टामप्याटलगायत आवश्यक ११ प्रकारका सामग्री पुगेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको हो ।
एक निर्वाचन क्षेत्र रहेको मुगुमा ३६ हजार ३१ मतादाता संंख्या रहेको छ । जिल्लाभर ६७ मतदान स्थल र ६९ मतदान केन्द्र छन् ।
आइतबार मतपत्रसहितका आबश्यक सबै सामग्री जिल्लामा पुगेपछी १४ गते मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई तालिम संचालन गरी १५ गतेबाट मतदान केन्द्रमा लैजाने समग्री प्याकेजिङ गरी भूगोलका आधारमा १७ गतेबाट मतदान अधिकृतसहितको टोली आ-आफ्ना स्थलतर्फ प्रस्थान गर्ने जिल्ला निर्वाचन कार्यलयका प्रमुख कमलप्रसाद उपाध्यायले बताए ।
निर्वाचन सफल बनाउनका लागि मतदान अधिकृत ७० जना, सहायक मतदान अधिकृत ७० जना, सहायक कर्मचारी दुई सय १० जना, स्वयंसेवक एक सय ७९ जना र सहयोगी ७० जना गरी पाँच सय ९९ जना कर्मचारी परिचालन हुनेछन् ।
सुरक्षाको लागि निर्वाचन प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी एक हजार पाँच सय भन्दा बढी सुरक्षा कर्मी परिचालन गरिने भएको छ ।