सामाजिक सद्भाव कायम राख्न रौतहट प्रशासनको अपील, सोमबार सद्भाव र्याली निकालिने
प्रिमेश शिवाकोटी,
प्रकाशित २०८२ फागुन १० आइतबार
776
Shares
रौतहट । रौतहटमा दुई समुदायबीचको विवादपछि उत्पन्न तनाव अन्त्यका लागि सबै पक्षले सार्वजनिक अपील जारी गरेका छन् । आज जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा सरोकारवाला र सबै पक्षले लगातार बसेको बैठकपछि आपसी सम्मान,सद्भाव र एकता कायम राख्दै सौहार्द्रपूर्ण वातावरण कायम राख्न अपील गरेका छन् ।
सार्वजनिक अपीलमा - सबै मिलेर सौहार्द्रपूर्ण वातावरण कायम गर्दै आपसी सम्मान, सहिष्णुता, एकता र समझदारी कायम गर्न जिल्लाका सम्पूर्ण क्षेत्रमा सामाजिक, धार्मिक सहिष्णुता कायम गर्न अपील गरिएको छ ।
जिल्लामा शान्ति ब्यवस्था कायम राख्न सबैको साथ अपरिहार्य रहेको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले जिकिर गरे ।
सबगढा क्षेत्रमा सोमबार बिहान साढे ७ बजे नागरिक समाजको अगुवाइमा सरोकारवाला सबैको सहभागितामा सद्भाव र्याली निकाल्ने सहमति भएको प्रजिअ भुषालले बताए ।
रौतहट प्रहरी प्रमुख सिताराम रिजालले शान्ति ब्यवस्था कायम राख्न सबैको साथ आवश्यक रहेको बताए ।