arrow

सुरक्षा समितिको बैठक

फागुन २१ मा निर्धक्कका साथ मतदान गर्न गृहमन्त्री अर्यालको आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ८ शुक्रबार
surakhsya-samiti-ghriha.jpg

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सुरक्षाको सम्पूर्ण तयारी पुरा भइसकेकाले सम्पूर्ण मतदाताहरूलाई ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आव्हान गरेका छन् ।

बिहीबार गृहमन्त्री अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकलाई सम्बोधन गर्दै उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सुरक्षा अङ्गहरूले चुस्त र भरपर्दो प्रबन्ध मिलाएको स्पष्ट पारे । सबै सम्बद्ध निकायहरूको प्रभावकारी समन्वय र सहयोगले नै निर्वाचन तोकिएकै समयमा सफल हुनेमा उनले पूर्ण विश्वास व्यक्त गरे ।

सोही बैठकमा नेपालका तीनवटै सुरक्षा अङ्गका प्रमुखहरू र जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले निर्वाचन सुरक्षाका लागि तयार पारिएका रणनीतिक योजनाहरू क्रमिक रूपमा कार्यान्वयनको चरणमा रहेको जानकारी गराएका थिए । गृहमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार बैठकमा केन्द्रीय निर्वाचन सुरक्षा रणनीतिको प्रभावकारी परिचालन र निर्वाचनको समग्र तयारीका विषयमा गहन र विस्तृत छलफल भएको छ ।

प्रविधिको प्रयोग गर्दै 'जुम' एपमार्फत सञ्चालन गरिएको उक्त बैठकमा गृहमन्त्री अर्यालले देशभरको सुरक्षा अवस्थाको सूक्ष्म अनुगमन गरेका थिए । उनले सातवटै प्रदेशका प्रमुख सचिवहरू, जो प्रदेश कमान्ड पोस्टका प्रमुख समेत हुन्, र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग प्रत्यक्ष सम्वाद गर्दै जिल्लागत सुरक्षा रणनीतिको पछिल्लो वस्तुस्थितिबारे जानकारी लिएका थिए ।

बैठकमा प्रदेश प्रमुख सचिव र जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले आ–आफ्नो क्षेत्रको सुरक्षा तयारी र निर्वाचनलाई भयरहित बनाउन चालिएका कदमहरूका बारेमा विशेष प्रस्तुतीकरण समेत दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ