एमालेका पूर्व जिल्ला अध्यक्ष ढकालसहित सय नेता–कार्यकर्ता कांग्रेसमा
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ७ बिहिबार
2.6k
Shares
काठमाडौँ । रसुवा जिल्लाबाट नेकपा एमालेका पूर्व जिल्ला अध्यक्ष तथा संविधान सभा सदस्य जनार्दन ढकालसहित झण्डै सय नेता–कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले उनीहरूलाई बिहीबार पार्टी सदस्यता प्रदान गर्दै औपचारिक रूपमा स्वागत गरे। प्रवेश गर्ने नेता–कार्यकर्ता जिल्ला, पालिका र वडा तहका पदाधिकारी, सचिवालय सदस्य, भ्रातृ संगठनका युवा प्रतिनिधि तथा खेलकुद र सामाजिक संस्थाका पूर्व सदस्यहरूबाट बनेको समूह रहेको छ ।
यस समूहमा नेकपा एमालेका स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, सचिव र कमिटी सदस्यहरू, युवा संघ र अनेरास्ववियुका जिल्ला तथा पालिकास्तरीय पदाधिकारीहरू साथै खेलकुद महासंघका जिल्ला र केन्द्रीय पूर्व सदस्यहरू पनि रहेका छन् । उनीहरूमध्ये धेरै लामो समय एमालेमा सक्रिय भएर नेतृत्व र प्रशासनको अनुभव हासिल गरेका हुन् ।
कांग्रेसका नेताहरूले रसुवाबाट भएको यो सामूहिक प्रवेशलाई संगठन सुदृढीकरण र स्थानीय तहसम्म पार्टीको पहुँच विस्तार गर्ने महत्वपूर्ण कदमका रूपमा मूल्यांकन गरेका छन्।
रसुवामा भएको यो सामूहिक प्रवेशसँगै कांग्रेसले अन्य जिल्लामा पनि संगठन सुदृढीकरण अभियान तीव्र पार्ने संकेत दिएको छ । विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको प्रवेशले पार्टीभित्र अनुभव र नेतृत्व सन्तुलन कायम राख्ने दिशामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
पूर्वमन्त्री रामवीर मानन्धर पनि एमाले छाडेर बिहीबारै कांग्रेसमा प्रवेश गरेका छन्। उनले २०७४ सालमा निर्वाचित सांसदको रूपमा राजनीतिक अनुभव हासिल गरेका थिए ।