arrow

अजयबाबुलाई जिताउन दोलखामा 'जेन–जी' सचिवालय

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ६ बुधबार
gen-z-sachibalayas.jpg

चरीकोट । प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीलाई जिताउन दोलखामा 'जेन–जी' सचिवालय स्थापना गरिएको छ। नयाँ पुस्तालाई राजनीतिमा सक्रिय गराउने र उनीहरूका मुद्दालाई चुनावी एजेन्डामा प्राथमिकताका साथ समेट्ने उद्देश्यले यो सचिवालय सञ्चालनमा ल्याइएको हो ।

नेपाली कांग्रेस जेन–जी परिचालन समिति दोलखाका संयोजक महेन्द्र खड्काले नेपाल विद्यार्थी संघ (नेविसंघ) सँगको समन्वयमा यसको नेतृत्व गरिरहेका छन् । खड्काका अनुसार नेविसंघ दोलखाका सचिव एवं चरीकोट क्याम्पसका स्ववियु सभापति सम्राट मानन्धरसँगको सहकार्यमा सचिवालयले आफ्ना गतिविधि अघि बढाउनेछ ।

निकट भविष्यमै जेन–जी पुस्ताका युवाहरूलाई चरीकोटमा भेला गराई नियमित भेटघाट र छलफलमार्फत अभियानमा जोड्ने योजना रहेको खड्काले जानकारी दिए । जिल्लाका युवाहरूलाई कुनै गुनासो, सुझाव वा राजनीतिक विषयमा छलफल गर्नुपर्ने भए प्रत्यक्ष भेटेर समाधान खोज्न आफूहरू सधैँ तयार रहेको उनले बताए ।

यसअघि दोलखाबाट संघीय संसद्का लागि स्वतन्त्र उम्मेदवारी दिएका युवा अगुवा महेन्द्र खड्काले आफ्नो उम्मेदवारी फिर्ता लिँदै कांग्रेस उम्मेदवार शिवाकोटीलाई समर्थन गरेका थिए । अहिले उनकै नेतृत्वमा जिल्लाभर युवा परिचालनको कामले तीव्रता पाएको छ । यसले चुनावी माहोललाई थप उत्साहजनक बनाएको जेन-जी पुस्ताले बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ