arrow

खुम्चियो नेप्से र कारोबार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ४ सोमबार
nepse-stock-share-down-bear.jpg

काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बिहीबार सामान्य वृद्धि भएको बजार यस दिन भने दबाबमा देखिएको हो । सोमबार नेप्से परिसूचक ८.१६ अंकले घट्दै २६६२.९१ विन्दुमा झरेको छ।

त्यसैगरी, सेन्सेटिभ इण्डेक्स १.०६ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.५६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंकले ओरालो लागेको छ ।

परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । गत बिहीबार ११ अर्ब १० करोड रुपैयाँबराबरको शेयर कारोबार भएको बजारमा सोमबार भने ७ अर्ब ९४ करोड २७ लाख ६० हजार रुपैयाँमा सीमित भएको छ।

यस दिन ३३५ स्टकको ८० हजार ५५९ पटकको कारोबारमा १ करोड ९६ लाख १६ हजार कित्ता शेयर किनबेच भएको हो।

कारोबारका क्रममा तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा पुगेको छ। बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी, रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकको शेयर सकारात्मक सर्किटमा कारोबार भएको हो।

यसैगरी, अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ। विपरीत, खानी खोला हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक ९.३८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ६५ करोड ३ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, आँखु खोला जलविद्युत कम्पनीको करिब ५२ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम ४८ करोड रुपैयाँ नाघेको छ।

उपसमूहगत प्रदर्शनतर्फ १३ मध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। वित्त, होटल तथा पर्यटन तथा उत्पादन तथा प्रशोधन उपसमूहमा सामान्य सुधार देखिएको छ। जलविद्युत उपसमूह भने सर्वाधिक १.०२ प्रतिशतले घटेको छ।

समग्रमा, साताको पहिलो दिन बजारमा गिरावटसँगै कारोबार रकममा पनि संकुचन देखिएको छ, जसले लगानीकर्तामा केही सतर्कता बढेको संकेत गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ