नागढुङ्गा–मलेखु सडक स्तरोन्नति तीव्र: ११ किलोमिटर कालोपत्र सम्पन्न
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ४ सोमबार
662
Shares
काठमाडौँ । पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक खण्डलाई स्तरोन्नति गरी कालोपत्र गर्ने कार्यले अहिले तीव्रता पाएको छ। आयोजनाका अनुसार हालसम्म ११ किलोमिटर सडक कालोपत्र भइसकेको छ, जसमा गत वर्ष आठ किलोमिटर र यस वर्ष थप तीन किलोमिटर काम सम्पन्न भएको हो। विसं २०७९ पुस १५ गते तीन वर्षभित्र सक्ने गरी ठेक्का लगाइएको यो सडकको काम समयमा नसकिएपछि अहिले ६ महिनाका लागि म्याद थप गरिएको छ। यो खण्ड नागढुङ्गा–मुग्लिन सडक आयोजनाको तेस्रो चरणअन्तर्गत पर्दछ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का इन्जिनियर विजय दरैका अनुसार हालसम्म आयोजनाको भौतिक प्रगति ४० प्रतिशत पुगेको छ। अहिले कुरिनटार, फिस्लिङ, चरौदी र विशालटारका केही क्षेत्रमा कालोपत्र गर्ने काम सकिएको छ भने धादिङको बाँदरेमा काम जारी छ। फिस्लिङ र जवाङ खोला क्षेत्रमा बेस र सबबेस राखेर कालोपत्रको अन्तिम तयारी गरिएको उनले जानकारी दिए। अहिलेको मौसम कालोपत्रका लागि उपयुक्त भएकाले झण्डै २०० मजदुर, प्राविधिक र कर्मचारीहरू फिल्डमा खटिएका छन्।
यस खण्डमा निर्माण भइरहेका ६ वटा पुलमध्ये हुग्दि र चरौदी पुलको फाउन्डेसनपछिको काम भइरहेको छ भने कृष्णभिरको पहिरो रोकथामको कार्य पनि अघि बढाइएको छ। यद्यपि, कामलाई निरन्तरता दिन निर्माण सामग्रीको अभाव हुन सक्ने देखिएको उनले बताए। अहिले धादिङको चरौदी, बेनीघाट र चितवनको इच्छाकामनाबाट सामग्री ल्याइएको भए पनि दीर्घकालीन रूपमा सामग्री अभाव हुन सक्ने डर रहेको उनले उल्लेख गरे। सामग्रीको उपलब्धता सहज भएमा अब काम नरोकिने उनको भनाइ छ।
३८ दशमलव ८६ किलोमिटर लामो यो सडक खण्डमा विभिन्न चौडाइका सडकहरू रहनेछन्। मलेखु, बेनीघाट र मुग्लिन क्षेत्रमा २.२ किलोमिटर सडक ६ लेनको हुनेछ भने रमाइलोडाँडा, कुरिनटार र फिस्लिङ लगायतका क्षेत्रमा ७.२ किलोमिटर सडक ४ लेनको बनाइनेछ। उकालो र ओरालो परेका ठाउँमा २.३ किलोमिटर लामो तीन लेनको 'क्लाइम्बिङ' मार्ग बनाइने र बाँकी सडक दुई लेनकै रहने दरैले बताए। विश्व बैंकको सहयोगमा शर्मा–जेडआइसिजीले ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँमा यसको ठेक्का लिएको हो। काठमाडौँ भित्रिने र बाहिरिने मुख्य नाका भएकाले यसको निर्माण कार्यलाई उच्च प्राथमिकतामा राखिएको छ।