कर्णालीमा चुनावी माहोल : विरासत जोगाउने प्रयासमा कांग्रेस र नेकपा, एमालेलाई साख फिर्ता गर्ने चुनौती
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ३ आइतबार
733
Shares
सुर्खेत । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कर्णालीमा दलहरूको शक्ति परीक्षण हुँदैछ ।
तीन बर्ष अघि भएको प्रतिनिधिसभामा नेपाली कांग्रेस र तत्कालीन नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहितको गठबन्धनबाट जित निकालेका दलहरूलाई आफ्नो विरासत जोगाउने चुनौती छ भने नेकपा एमाले कर्णालीमा आफ्नो गुमेको साख फर्काउने ध्याउन्नमा लागेको देखिएको छ ।
२०७४ सालमा एमाले-माओवादी गठबन्धनले कर्णाली प्रदेशबाट प्रतिनिधिसभामा नतिजाविहीन भएको नेपाली कांग्रेसले २०७९ मा तीन दलसंगको गठबन्धनमा १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा चार सिटमा जित हात पारेको थियो ।
२०७४ मा एमाले माओवादी गठबन्धनबाट एमालेले छ सिट र माओवादीले पाँच सिटमा जित किालेको थियो ।
त्यतिबेला हुँलाबाट छक्कबहादुर लामा स्वतन्त्रबाट चुनाव जितेर पछि माओवादी केन्द्रमै फर्किएका थिए ।
२०७९ मा एकीकृत समाजवादी सहितको नेपाली कांग्रेस गठबन्धमा एमाले कर्णालीमा नतिजाविहीन भएको थियो ।
नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले चार चार ठाउँमा चुनाव जित्दा एकीकृत समाजवादीले तीन र जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनाव जितेको थियो ।
फागुन २१ मा हुन लागेको निर्वाचनबाट यसअघि जितेका चार सिट जोगाउँदै नयाँ सिटमा जित निकाल्ने कसरत कांग्रेसको रहेको छ ।
एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको एकताबाट बनेको नेपाली कम्युनिष्ट पार्टीलाई विगतका सिट जोगाउने चुनौती रहेको छ । कर्णालीमा राप्रपा, रास्वपा र श्रमसंस्कृति पार्टी सहितका नयाँ दलहरू पनि थपिएका छन् ।
कांग्रेसले अघिल्लो निर्वाचन जितेको सुर्खेतको क्षेत्र नम्बर एक र दुईमा काँग्रेस छोडर रास्वपा प्रवेश गरेका उम्मेदवार भएकोले यी क्षेत्र जोगाउन काँग्रेसलाई निकै मेहनत गर्नु पर्नेछ ।
नेकपा माओवादी केन्द्रले चुनाव जितेको कालिकोटमा माओवादी पृष्ठभूमिमा खड्कबहादुर विश्वकर्मा र रुकुम पश्चिममा माओवादी केन्द्रका तत्कालीन उपमहासचिव जनार्दन शर्माले नेकपाका उम्मेद्वारले चुनौती दिएका छन् ।
यसअघि गठबन्धनलाई हराउँदै जित निकालेका राप्रपाका ज्ञानेन्द्र शाहीलाई रास्वपाकी विनिता कठायत र प्रलोपका मनऋषी धितालाई सामना गर्नु पर्नेछ ।
२०७९ को समानुपातिक मत हेर्दा कर्णालीमा नेकपा एमाले पहिलो दल हो । एमालेले समानुपातिकतर्फ एक लाख ८३ हजार एक सय ३३ मत पाउँदा कांग्रेसले एक लाख ८० हजार नौ सय नौ मत पाएको थियो ।
तेस्रोमा रहेको माओवादी केन्द्रले पाएको मत एक लाख ३५ हजार चार सय ९६ र नेकपा (एकीकृत समाजवादी) को २५ हजार पाँच सय ५५ मत ल्याएको थियो ।
त्यतिबेलाको समानुपातिक मतमा माओवादी केन्द्र र एकीकृत समाजवादीको जोड्दा पनि एक लाख ६१ हजार ५१ मत हुन्छ ।
यस पटक कालिकोटमा र रुकुम पश्चिममा माओवादी र एकीकृत समाजवादीको भोट प्रगतिशील लोकतान्त्रिक पार्टी र नेकपा माओवादीले काट्न सक्ने अनुमान गरिएको छ ।
नेपाली कांग्रेस र नेकपा एमालेका भोट रास्वपाका उम्मेद्वारमा जानसक्ने अनुमानले कुन दलको स्थान के हुने हो भनेर आकलन गर्न सहज नभएको विश्लेषकहरूले बताएका छन् ।
दलहरू एक्ला-एक्लै चुनाव लड्दा कांग्रेस र नेकपालाई अघिल्लो पटक जितेका क्षेत्र जोगाउनुपर्ने चुनौती छ भने नेकपा एमालेलाई गुमेको साख फिर्ता गर्नुपर्ने बाध्यता छ ।