आगामी फागुन २१ गते प्रतिनिधि सभाको लागि निर्वाचन हुँदैछ । देशभरिमा प्रतिनिधि सभाको समानुपातिकमा ११० र प्रत्यक्षतर्फ १६५ जना जनप्रतिनिधिका लागि विभिन्न दल र स्वतन्त्र गरी करिब ६५ सय उम्मेदवारहरू चुनावी मैदानमा प्रतिस्पर्धा गरिरहेका छन् । यतिबेला देशविदेश, हिमाल, पहाड, तराई, सुगम, दुर्गम, गाउँ, टोल, बजार, सहर, चियाचौतारो जताततै चुनावी चासो, चिन्तन, टीकाटिप्पणी, आलोचना, छलफल भइरहेका छन् ।
कतिपय उम्मेदवारहरूले जनताको घर आँगनमा पुग्दा प्रतिनिधि सभा सदस्यका काम र कर्तव्य के हुन् भन्ने कुराहरूलाई बिर्सेर एकैछिनका लागि मतदाताको भावनात्मक रूपमा मन जित्न उटपट्याङ र चटकी पनि देखाइरहेका देखिन्छन् । मिडिया र सामाजिक संजालहरूमा रौतहट, गोरखा, धादिङ, नुवाकोट, प्युठान आदि जिल्लाका केही निर्वाचन क्षेत्रका उम्मेदवारका प्रचारात्मक शैली देख्दा झिल्के, उत्तेजक, बेतुक, चटकी, घृणास्पद, भड्काउ देखिन्छन् ।
यी उम्मेदवारको प्रचारात्मक शैली देख्दा संसदको महत्त्व र गरिमाप्रति नै व्यङ्ग्य गरेजस्तो देखिन्छ ।चुनावी प्रचारप्रसारको क्रममा उम्मेदवारहरूमा परिपक्वता, जिम्मेवारबोध, अनुशासन, नैतिकता नै देखिँदैन । ती उम्मेदवारहरूको क्रियाकलाप हेर्दा कतै नेपालको संसद चटकी र जादूगरहरू भेला हुने ठाउँ बन्ने त हैन भन्ने जस्तो पनि लाग्छ । नेपाली मतदातालाई यस्तै जादूगर र चटकी उम्मेदवारहरूले बेलाबेलामा भ्रममा पारिरहेका छन् ।
पहिले पनि यस्तै तरिकाले भ्रममा पारेर संसदलाई मागी खाने भाडो बनाउँदा आज देशले अनेक किसिमका सङ्कट भोग्न परिरहेको छ । उम्मेदवारहरूले सांसदको गरिमा, काम, कर्तव्य र महत्त्वलाई बुझ्न नसकेको देखिन्छ । विभिन्न किसिमका दाग लागेका, मुद्दाका भारी बोकेका, अरुतिर असफल भएका केही व्यक्तिहरूसमेत अहिले उम्मेदवार बनेर जनतामाझ गएका देखिन्छन् । जो आफू नै स्वच्छ,सफा र सक्षम छैनन् भने त्यस्ताले संसदमा गएर के गर्न सक्छन् ?
राजनीतिलाई सेवा नठानी सबैभन्दा सजिलो पेशा र व्यवसायजस्तो बनाएको देखिन्छ ।एकछिन विचार गरौँ त, देशको मूल कानून र नीति बनाउने ठाउँमा अनपढ, चटके, जादूगर, भाइरल, लोकप्रिय, आरोपित र झिल्केहरूको जमगढ भयो भने देशले कस्तो कानून पाउला ? अनि यस्ता विधायकबाट देशले कस्तो सुशासन र समृद्धि पाउला ? नेपालका सांसदहरू अत्यन्तै गैरजिम्मेवार र असक्षम भएका कुरा विगतका संसदमा अनेक पटक देखिएका घटनाबाट थाहा पाउन सकिन्छ । संसदको काम र कर्तव्यलाई बुझ्नै नसक्ने, संसदको बैठकमा उठेर बोल्न नसक्ने, ऐन र कानूनको बारेमा सामान्य ज्ञानै नभएका अनि केवल जादूगरीले देशको विकास गर्छन् भनेर पत्याउने र विश्वास गर्ने ठाउँ नै छैन ।
लोकतन्त्रको मेरुदण्ड भनेको संसद हो । मेरुदण्ड नै कमजोर भयो भने शरीरले काम गर्नै सक्दैन । लोकतान्त्रिक शासन प्रणाली अवलम्बन गरेका मुलुकहरूको सबैभन्दा मुख्य आधार भनेकै संसद हो । जनताको अमूल्य मत प्राप्त गरेका सांसद र जनप्रतिनिधिबाट आम नागरिकले ठूलो आशा र अपेक्षा गरेका हुन्छन् । जननिर्वाचित सांसदहरू अनुशासित, योग्य र सक्षम,कुशल र नैतिकवान भएमात्र देश र जनताको समृद्धि सम्भव हुन्छ । जनताको भावनामा खेलेर,अनेक उटपट्याङ र चटकी देखाएर निर्वाचित भएका सांसदले संसदको गरिमा,काम,कर्तव्य र मर्यादा बुझ्न नसक्दा आज नेपालको लोकतन्त्रमाथि थुप्रै प्रश्न उठेका हुन् र लोकतन्त्र कमजोर पनि भएको हो ।
आज चुनावी प्रचारमा निस्किएका केही उम्मेदवारहरूको शैली हेर्दा चटके र झिल्के जस्ता देखिएका छन् । गाउँ सहरमा गएर मतदातासँग पुरानै परम्परित बिकाऊ र भावनात्मक कुराहरू गरेर भोलि नै रोजगारी दिने, बाटो, बिजुली बत्ती, खानेपानी, विद्यालय, स्वास्थ्य चौकी आदि बनाइदिने घोषणा गरिरहेका छन् ।
भौतिक पूर्वाधार निर्माण गर्ने कुरा र रोजगारी सिर्जना गर्ने भन्ने कुरा आजको भोलि सम्भव हुने कुरा होइनन्, यस्ता सस्तो लोकप्रियताका कुरा गरेर जनताको मन जित्ने प्रयत्न गरिरहेका छन् । आज देश संघीयता छ।देशमा स्थानीय,प्रदेश र संघ गरी तीन किसिमका सरकार छन्।स्थानीय जनताका आधारभूत आवश्यकता सुन्ने र सम्बोधन गर्ने भनेको स्थानीय सरकारले हो।स्थानीय सरकारमा छुट्टै स्थानीय जननिर्वाचित जनप्रतिनिधि हुन्छन् । नेपालको संविधान अनुसार प्रतिनिधि सभा सदस्यले गर्ने मुख्य काम भनेको त कानूनको निर्माण गर्नु र कार्यपालिकाको नियन्त्रण र निरीक्षण गर्नु नै हो । प्रतिनिधि सभा सदस्य भनेका त विधायक र नीति निर्माता हुन् । अहिलेको यी उम्मेदवारहरूको चुनावी प्रचारात्मक शैली हेर्दा त यिनीहरू विकासका एजेन्ट र ठेकेदार जस्ता देखिन्छन् ।
यी उम्मेदवारहरूले यस्ता चटकी देखाएका छन् कि आफूले जितेपछि त मानौँ ती गाउँ, टोल र सहर त स्वर्ग नै भइ हाल्नेछन् । आम मतदाताले बुझ्नुपर्ने कुरा के छ भने यस्ता बाटोघाटो, पुलपुलेसा, खानेपानी आदि जस्ता स्थानीय पूर्वाधारका काम गर्ने भनेको स्थानीय सरकारले हो । आम मतदाताले प्रतिनिधि सभा सदस्यले स्थानीय पूर्वाधारका काम गर्ने हो भने स्थानीय प्रतिनिधि र सरकारको औचित्य के हो त भनेर ती चटकीहरूलाई प्रश्न सोध्नुपर्छ । नेपाली जनतालाई प्रतिनिधि सभाको लागि विकासे ठेकेदार र एजेन्ट, जादूगर, चटके, भावनात्मक कुरा गर्ने बकम्फुस गफाडी चाहिएको होइन;देशमा उत्कृष्ट ऐन, कानून र नीति बनाउने निर्माणकर्ता र सरकारका कामकारबाहीप्रति प्रश्न उठाउने एउटा असल, इमान्दार, सक्षम र कुशल विधायक चाहिएको हो ।
वास्तवमा संघीय सांसदका काम भनेका कानुन निर्माण गर्ने, बनेका कानूनको अध्ययन गर्ने,सरकारी काम कारबाहीको निगरानी गर्ने, सार्वजनिक निकायका काम कामकारबाहीमाथि ख्याल गर्ने र निर्देशन दिने नै हुन् । सरकार निर्माण गर्ने, सरकारलाई निर्देशन र नियन्त्रण अनि खबरदारी गर्ने काम भनेको संघीय सांसदको हो । सरकारको नीति, कार्यक्रम तथा बजेट पारित गर्ने एवम् आय-व्ययको जाँच तथा राज्यकोषको नियमन गर्ने,सन्धि सम्झौता अनुमोदन गर्ने, लोकतन्त्रको संस्थागत विकास गर्ने जस्ता कामहरू संघीय सांसदका हुन् । संघीय सांसद भनेका विकासका नीति निर्माता र निगरानी कर्ता हुन् । सांसद भनेका विकासे ठेकेदार होइनन्;विकासको विधि बनाउने र विकास गर्ने निकायलाई जिम्मेवार बनाउने विधायक हुन् ।
आज चुनावी मैदानमा संसद प्रवेशको लागि नयाँ पुराना अनेक थरीका अनुहार देखिएका छन्।कतिपय अत्यन्तै पुराना र असफल पात्रहरू छन् भने कतिपय अत्यन्तै नयाँ र अपरिपक्व पनि छन् भने केही मझौला पनि देखिन्छन् । मत दातालाई रोज्नका लागि प्रशस्त विकल्प छन् । एकथरी पुराना असफल पात्रहरू पुनः भिन्न किसिमको मुकुण्डो लगाएर देखिएका छन्;तिनीहरूबाट भने निकै सावधान हुनुपर्छ ।
करिब चालीस वर्षसम्म शासन सत्ता सम्हालेका ती पुराना मुकुण्डोधारीहरूले नयाँलाई गाली गर्दै यसपटक पनि आश्वासनका पोकाहरू फालिरहेका छन् । लोकतन्त्रको मूल्य मान्यतालाई नै बिर्सेर केही अतिवादी शक्तिहरू राजनीतिक रुपमा एकअर्कालाई सक्ने हो भनेझैँ गरेर देखिएका पनि छन् । सबैभन्दा पुराना भनिनेहरू आफूहरू बदलियौँ भन्दै मध्यमार्गी बाटो अवलम्बन गर्दै चुनावी मैदानमा आएका छन् । लोकतन्त्रमा निर्वाचन भनेको दण्ड र पुरस्कार गर्ने साधन हुनाले असक्षम प्रमाणित पात्रलाई हराएर दण्ड दिनैपर्छ।जनताले देशलाई गरिब र अस्थिर बनाएर वर्षैाँदेखि संसद र सत्ताको रजगज गरेका तथाकथित म्याजिक नम्बरका सत्ताका खेलाडीलाई पराजित गराउनै पर्छ ।
लोकतन्त्रको मूल्य र मान्यता बुझेको, स्पष्ट भिजन भएको, राष्ट्रप्रेमी र देशभक्तलाई निर्वाचित गराउनु पर्छ । देश दिवा सपना, बेतुकका गफ,भावनात्मक आश्वासनले बन्दैन । देश बनाउन सबैभन्दा पहिले सुशासन, रोजगारी, भ्रष्टाचारको अन्त्य, विधिको शासन हुनैपर्छ । हामी नेपाली जनताहरू धेरै वर्षसम्म चिल्ला र चिप्ला आश्वासनको भ्रममा परेर ठगिएका छौँ । आगामी निर्वाचनमा हामी आम मतदाताहरूले चटके, नौटंकी र गफाडीहरूबाट सतर्क भई सक्षम, योग्य, कुशल, इमान्दार, अनुशासित उम्मेदवारलाई मात्र निर्वाचित गर्नुपर्छ।