दश पूर्वसहकर्मी भिडन्तले रोचक बन्दै कर्णालीको निर्वाचन
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १ शुक्रबार
587
Shares
सुर्खेत । आसन्न प्रतिनिधि सभा निर्वाचनमा १० जना पूर्व सहकर्मीहरू चुनावी प्रतिस्पर्धामा छन् । प्रमुख ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका पूर्वसहकर्मीहरू अहिले प्रमुख प्रतिस्पर्धामा छन् ।
१२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा १० जना पूर्वसहकर्मीबीचको प्रतिस्पर्धाले कर्णालीको चुनावी माहोल रोचक बनेको छ । सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ र २ मा नेपाली कांग्रेस, दैलेख निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका र कालिकोट र रुकुमपश्चिममा तत्कालीन नेकपा माओवादीका पूर्वसहकर्मीबीच प्रतिस्पर्धा हुनेछ । नेपाली कांग्रेसकाका विष्णुबहादुर खड्का र टेकबहादुर सिंह पूर्वसहकर्मी हुन् ।
नेपाली कांग्रेस सुर्खेतका उपसभापति खड्का र पूर्वउपसभापति सिंहबीच सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिस्पर्धा हुँदैछ ।
यस्तै सुर्खेतको निर्वाचन क्षेत्र नम्बर २ मा पूर्व क्षेत्रीय सभापति नारायणकुमार कोइराला र वीरेन्द्रनगर नगर समिति सचिव रमेश सापकोटा प्रतिस्पर्धामा छन् । सिंह र सापकोटाले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वार बनेका छन् ।
सुर्खेतका दुबै निर्वाचन क्षेत्र कांग्रेसको बलियो पकड भएको मानिन्छ । विगतका निर्वाचनमा एकल चुनाव लड्दा कांग्रेसले निरन्तर जित्दै आएका दुवै निर्वाचन क्षेत्रमा यो पटक उम्मेद्वार सबै नयाँ अनुहार छन् ।
क्षेत्र नम्बर १ मा २०४८ साल यताका सबै निर्वाचनमा पूर्णबहादुर खड्का उम्मेद्वार बन्दै आएका छन् । २०६४ सालको पहिलो संविधानसभा चुनावमा समानुपातिकमा रहेका खड्काले २०७४ सालमा तत्कालिन एमाले माओवादी गठबन्धनका कारण चुनाव जित्न सकेनन् ।
खड्का २०४८, २०५१ र २०५६ सालको आमनिर्वाचन, २०७० सालको संविधान सभा र २०७९ को आमनिर्वाचनमा निर्वाचित भएका थिएका थिए ।
यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस सुर्खेतका पूर्वउपभापति टेकबहादुर सिंह र वर्तमान उपसभापति बिष्णुबहादुर खड्का चुनाव प्रतिस्पर्धी बनेका छन् । खड्का निवर्तमान कार्यवहाक सभापति पूर्णबहादुर खड्काका सहोदय भाइ हुन् ।
सिंह २०७४ सालको निर्वाचनमा कर्णाली प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसबाट चुनाव लडेका थिए । त्यत्तिबेला नेकपा एमाले र माओवादी गठबन्धनका कारण प्रतिनिधिसभामा खड्का र प्रदेश सभामा सिंह दुवैले चुनाव जित्न सकेनन् ।
एमाले र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुँदै आएको सुर्खेत क्षेत्र नम्बर १ मा पुराना कांग्रेसीहरूको लडाइँले चुनावी परिणाम एमालेको पोल्टामा जाने अनुमान गरिए पनि कांग्रेसको बलियो पकडका कारण पार्टीको भोट प्रभाव नपर्ने कांग्रेसका नेताहरुले बताउने गरेका छन् ।
तेस्रो पटक चुनाव लडेका एमालेका धुव्रकुमार शाही, नेपाली कम्युनिष्ट पार्टीका जितबहादुर राना, राप्रपाका जेनजी उमेर समूहका रविकिरण हमालसहित विभिन्न १३ दलको उम्मेद्वारीका कारण कांग्रेसलाई खासै फरक नपर्ने अनुमान कांग्रेसीहरूको छ ।
सुर्खेतको क्षेत्र नम्बर २ मा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हृदयराम थानी २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ गरी ६ ओटा निर्वाचनमा उम्मेद्वार बने ।
२०५६, २०६४ र २०७९ सालमा चुनाव जितेका थानीले अरु चुनावमा हार व्यहोर्नु पर्यो । यो निर्वाचन क्षेत्रमा कांग्रेसका थानी र कर्णालीका मुख्यमन्त्रीसमेत रहेका एमालेका केन्द्रीय सचिव यामलाल कंडेल सदाबहार प्रतिस्पर्धी थिए। अहिले थानी र कंडेल उम्मेद्वार नहुँदा सबै नयाँ अनुहारहरू चुनावी मैदानमा छन् ।
कांग्रेसको पकड रहेको भनिएको यो क्षेत्रमा नेपाली कांग्रेसले पूर्वक्षेत्रीय सभापति नारायणकुमार कोइरालालाई उम्मेद्वार बनाएको छ ।
केही समय अघि रास्वपा प्रवेश गरेका नेपाली कांग्रेस वीरेन्द्रनगर नगर सचिव रमेश सापकोटाले नेपाली कांग्रेसलाई चुनौती दिएका छन् । एमालेका कुलमणि देवकोटा र नेकपाका झकबहादुर मल्ल क्षेत्र नम्बर २ बाट उम्मेद्वार बनेका छन् ।
दैलेखको निर्वाचन क्षेत्र नम्बर १ मा पूर्व एमालेका नेताहरू प्रतिस्पर्धामा छन् । २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धनबाट झिनो मतान्तरले चुनाव जितेका अमरबहादुर थापा र रवीन्द्र शर्मा प्रतिस्पर्धामा छन् ।
२०७९ सालमा गठबन्धनका उम्मेद्वार रहेका थापाले १८ हजार २९७ मत ल्याएर विजयी हुँदा एमालेका रवीन्द्र शर्माले १७ हजार ४४५ मत ल्याएका थिए ।
आठ सय ५२ मतान्तरले चुनाव जितेका थापा एमाले दैलेखका पूर्व अध्यक्ष हुन् । यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले बासना थापालाई उम्मेद्वार बनाएको छ। कालिकोट र रुकुम पश्चिममा तत्कालीन माओवादीका पूर्वसहकर्मीहरू आमनेसामने देखिएका छन् ।
कालिकोटमा खड्कबहादुर विश्वकर्मा र महेन्द्रबहादुर शाही र रुकुम पश्चिममा जनार्दन शर्मा र गोपाल शर्माबीचको प्रतिष्पर्धाले चुनावी माहोललाई राचक बनाएको छ ।
सशस्त्र द्धन्द्धका बेला युद्धका योजनाकार मानिएका विक र जनार्दनलाई उनकै कार्यकर्ताहरू महेन्द्र र गोपालले चुनौती दिएका छन् ।
२०६४ सालको संविधान सभा निर्वाचन जितेका खड्कबहादुर १८ बर्षपछि फेरी चुनाव लडेर संसद छिर्ने दाउमा छन् ।
पहिलेका सहकर्मी विक र शाही अहिले माओवादीबाट फुटेको विप्लव नेतृत्वको नेकपा र शाही नेकपाबाट उम्मेद्वार बनेका छन् ।
०६४ यता निरन्तर माओवादी पृष्ठभूमिको पार्टीले चुनाव जित्दै आएको कालिकोटमा यो पटक परिणाम फरिने अड्कल गरिएको छ । ०७० यता लगातार चौथो पटक चुनाव लडेका शाहीलाई खड्क विकको चुनौती र पार्टीभित्रकै असन्तुष्टि भारी हुने नेकपाकै नेताहरू बताउँछन् ।
यी दुई पूर्वसहकर्मीबीचको प्रतिस्पर्धा, नेकपाभित्रैको असन्तुष्टिले हुने अन्तर्घात र लगातार अवसर लिई रहेका महेन्द्र शाहीको धमिलो छविको फाइदा कांग्रेस र एमालेले लिन सक्ने अनुमान पनि कतिपयको छ ।
शान्ति प्रक्रियापछि लगातार रुकुमबाट चुनाव जित्दै आएका जनार्दन शर्मा आफ्नै कार्यकर्ता गोपाल शर्मासँग प्रतिस्पर्धा गरिरहेका छन् ।
जर्नादन शर्मा आँफै संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पुराना आफ्नै कार्यकर्ता गोपाल शर्मासँग चुनावी प्रतिस्पर्धामा छन् । तत्कालीन माओवादी केन्द्रमा रहेका दुवै जना यो पटक प्रतिद्वन्दी बनेका हुन् ।
जनार्दन नेकपा मओवादी केन्द्रको उपमहासचिव हुँदै प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेर चुनावमा होमिएका छन् ।
रुकुम पश्चिममा उनलाई नेकपा एमालेले साथ दिएको छ । गोपाल शर्मा २०७४ सालको निर्वाचनमा कर्णाली प्रदेश सभा सदस्य थिए ।