arrow

भरतपुरबाट जहाजले इन्धन भर्ने व्यवस्था गरिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १ शुक्रबार
bharatpur_airport.jpg

चितवन । भरतपुर विमानस्थलबाट काठमाडौँ र पोखरा उडान गर्ने जहाजले आगामी सातादेखि चितवनमै इन्धन भर्न पाउने भएका छन्। नेपाल आयल निगमले यही फागुन ६ गतेदेखि इन्धन भर्न मिल्ने गरी आवश्यक तयारी अन्तिम चरणमा पुर्‍याएको छ। निगमका प्रवक्ता मनोजकुमार ठाकुरले नागरिक उड्डयन प्राधिकरणसँग सम्झौता गरी काम अघि बढाइएको जानकारी दिएका छन्। उनले फागुन ६ गतेदेखि नै रिफिलिङ सुरु गर्ने लक्ष्यका साथ डिपो स्टेसनका लागि दुई थान रिफ्युलर र एक थान मोबाइल डिस्पेन्सरको व्यवस्था भइसकेको बताए। 

स्थायी रूपमा जमिनमुनि वा माथि ट्याङ्की निर्माण गरेर काम गर्न थप केही समय लागे पनि तत्काल जहाजमा इन्धन भर्न कुनै समस्या नहुने उनको भनाइ छ। यस आयोजनाका लागि निगमले करिब ४ देखि ५ करोड रुपैयाँ खर्च गर्दै ३० किलोलिटर इन्धन भण्डारणको व्यवस्था मिलाउँदै छ।

नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले प्राधिकरणले जग्गा उपलब्ध गराएको र बाँकी प्राविधिक काम निगमले गरिरहेको बताएका छन्। भरतपुरबाट हाल बुद्ध एयरले दैनिक सातवटा उडान भर्दै आएको छ, जसमा दुईवटा ४७ सिट र पाँचवटा ७२ सिट क्षमताका जहाज सञ्चालनमा छन्। 

बुद्ध एयर भरतपुरका स्टेसन म्यानेजर भक्तबहादुर बस्नेतका अनुसार विमानस्थलमै इन्धन भर्ने सुविधा भएमा काठमाडौँबाट आउने जहाजले थप यात्रु बोक्न सक्नेछन्। इन्धनको भार कम हुँदा जहाजले यात्रुको सङ्ख्या बढाउन पाउने भएकाले यसबाट एयरलाइन्स र यात्रु दुवैलाई फाइदा पुग्ने देखिन्छ।

हाल ७२ सिटको जहाजले काठमाडौँबाट आउँदा ७० जना र गर्मीयाममा त जम्मा ६० जना मात्र यात्रु बोक्नुपर्ने बाध्यता छ। यहाँबाट फर्कँदा त यो सङ्ख्या अझै घटेर ५५ देखि ४० जनासम्म झर्ने गरेको छ। त्यसैगरी ४७ सिटको जहाजले पनि गर्मीको समयमा आफ्नो पूर्ण क्षमता प्रयोग गर्न पाएको छैन। भरतपुरमै तेल भर्ने व्यवस्था भएपछि जहाजले काठमाडौँबाट आउँदा इन्धनको सट्टा थप यात्रु वा सामान बोक्न सक्नेछन्, जसले गर्दा उडान अझ बढी प्रभावकारी र आर्थिक रूपमा लाभदायक हुने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ