निर्वाचन सुरक्षामा कडाइ गर्न प्रधानमन्त्री कार्कीको निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १ शुक्रबार
772
Shares
काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले मुलुकभर निर्वाचनको लागि सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिएकी छन्। सुनसरीमा कोशी प्रदेशको वस्तुस्थितिबारे जानकारी लिँदै उनले यस्तो निर्देशन दिएकी हुन्। निर्वाचनको माहोल उत्साहजनक रहेको र सुरक्षा निकाय तथा प्रशासनिक क्षेत्रको तयारी प्रशंसनीय रहेको उनले बताइन्।
सुनसरी, मोरङ, सोलुखुम्बु र भोजपुर लगायतका जिल्लाको स्थलगत निरीक्षण र वस्तुस्थिति बुझेपछि उनले आगामी मङ्सिर २१ गते हुने मतदानको सम्पूर्ण तयारी करिब पूरा भएको उल्लेख गरिन्। सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारीहरूको रिपोर्टिङ र कार्यसम्पादनको मूल्याङ्कन गर्दै उनले छोटो समयमा धेरै काम भएको भन्दै प्रशंसा गरिन्।
निर्वाचन आयोगले निर्वाचन घोषणा भएको भोलिपल्टदेखि नै निकै मिहिनेतका साथ काम अघि बढाएको र अब २१ गतेको मतदान मात्र बाँकी रहेको जस्तो देखिएको उनको भनाइ छ। जिल्ला जिल्लामा तयारीका क्रममा केही कठिनाइ भए पनि हालसम्मको प्रगति सन्तोषजनक रहेको उनले उल्लेख गरिन्।
"हामीले सल्लेरी र भोजपुरको पनि भ्रमण गर्यौँ, ती क्षेत्रहरू भारतीय सीमासँग नजोडिएकाले सुरक्षाका दृष्टिले तुलनात्मक रूपमा शान्त देखिएका छन्," उनले भनिन्। सुरक्षा निकायले एकीकृत रूपमा गरिरहेको गस्ती र मुभमेन्टले सुरक्षा प्रत्याभूतिमा मद्दत पुर्याएको उनको विश्लेषण छ। यद्यपि, उम्मेदवारहरू बीचको हारजितको टक्करले उत्पन्न हुन सक्ने विवाद र फर्जी मत रोक्न विशेष सतर्कता अपनाउनुपर्नेमा उनले जोड दिइन्।
निर्वाचनमा भाग नलिने समूह र दुर्गा प्रसाईँ नेतृत्वको आन्दोलन जस्ता पक्षहरूले केही व्यवधान सिर्जना गर्न सक्ने तर्फ सङ्केत गर्दै कार्कीले सुरक्षा व्यवस्थालाई कडा बनाउनुपर्ने बताइन्। सीमावर्ती क्षेत्रमा छिमेकी मुलुकको सहयोग र आपसी समन्वयले सुरक्षा नियन्त्रणमा सहज हुने उनको विश्वास छ।
विगतका चुनावको तुलनामा अहिले 'पिन ड्रप साइलेन्स' र मर्यादित प्रचारप्रसार देखिनुलाई उनले सकारात्मक पक्षका रूपमा औँल्याइन्। सबै काम शतप्रतिशत पूरा गर्न मानिसलाई गाह्रो हुने भए पनि उपलब्ध स्रोत र साधनको प्रयोग गरेर निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न उनले सुरक्षा टोलीलाई हौसला दिइन्।