विश्वका जोखिमपूर्ण क्षेत्रमा नेपाली शान्ति सैनिकको सफल छ दशक
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १ शुक्रबार
711
Shares
काठमाडौँ । विश्व शान्ति स्थापनामा नेपाली शान्ति सैनिकले आफूलाई साहसिक, अनुशासित र व्यावसायिक रूपमा स्थापित गर्न सफल भएका छन्। सन् १९५८ मा लेबनानमा पाँच सैनिक पर्यवेक्षक खटाएर सुरु भएको यो यात्रा अहिले विश्व मञ्चमा एक मजबुत सहयात्रीका रूपमा विकसित भएको छ। सिरियास्थित युएन मिसनका पूर्वफोर्स कमान्डर ईश्वर हमालका अनुसार नेपाली सैनिकहरू जोखिमपूर्ण जिम्मेवारीलाई पनि सहजै स्वीकार गर्ने इमानदार र आदेशपालक 'च्याम्पियन' का रूपमा चिनिन्छन्।
अनुभवी, तटस्थ र भरपर्दो भएकाले नै द्वन्द्वग्रस्त मुलुकहरूमा नेपाली सैनिकलाई सबैले मन पराउने उनले बताए। नेपालको परराष्ट्र नीतिले नै राष्ट्रसङ्घको बडापत्रलाई प्राथमिकता दिएको छ र नेपालले हालसम्म दुई पटक सुरक्षा परिषद्को अस्थायी सदस्यको भूमिका समेत सफलतापूर्वक निभाइसकेको छ।
नेपाली सेनाको 'पुरानो गोरख गण' सन् १९७४ मा इजिप्टमा पहिलोपटक तैनाथ भएदेखि अहिलेसम्म ४४ वटा मिसनमा एक लाख ६२ हजारभन्दा बढी 'ब्लु हेल्मेट' धारी नेपाली सैनिकले योगदान दिइसकेका छन्। यसमा तीन हजार ६ सयभन्दा बढी महिला सैनिकको पनि महत्त्वपूर्ण सहभागिता छ। साइप्रस मिसनमा फोर्स कमान्डर रहेका पूर्व रथी भिक्ट्रीशम्शेर जबराले अन्तर्राष्ट्रिय स्तरमा मिसनको नेतृत्व गर्न पाउनु देश र सङ्गठनका लागि ठूलो अवसर भएको उल्लेख गरे।
विश्व शान्तिका लागि खटिँदा हालसम्म ७४ नेपाली सैनिकले वीरगति प्राप्त गरेका छन् भने ७७ जना गम्भीर घाइते भएका छन्। पछिल्लो समय युएनमा आर्थिक अभावका कारण सैनिक सङ्ख्यामा केही कटौती भए पनि नेपाल अझै पनि शान्ति सैनिक खटाउने मुलुकको सूचीमा अग्रस्थानमा छ।
अहिले विश्वका १० वटा मिसनमा ३९१ महिलासहित चार हजार ३०२ नेपाली सैनिक कार्यरत छन्। महिला सैनिक खटाउने देशहरूमा पनि नेपाल अगाडि नै छ। राष्ट्रसङ्घले माग गरेको खण्डमा ६० दिनभित्रै सैनिक पठाउन सक्ने गरी सेनाले जनशक्ति र उपकरण तयारी अवस्थामा राखेको प्रवक्ता राजाराम बस्नेतले जानकारी दिएका छन्। पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रलाई 'सेन्टर अफ एक्सीलेन्स' बनाउने काम भइरहेको छ, जहाँ स्वदेशी र विदेशी सैनिकहरूले विशिष्टीकृत तालिम लिइरहेका छन्।
शान्ति मिसनबाट प्राप्त हुने विदेशी मुद्रा देशको अर्थतन्त्रका लागि एक महत्त्वपूर्ण स्रोत बनेको छ भने यसले नेपालको संस्कृति र जीवनशैलीलाई विश्वमाझ परिचित गराउन पनि सहयोग पुर्याएको छ।
नेपाली सेनाले केवल शान्ति मिसनमा मात्र होइन, बेलायतको 'क्याम्ब्रियन पट्रोल' र पाकिस्तानमा हुने सैन्य अभ्यासहरूमा समेत स्वर्ण पदक जितेर आफ्नो वीरता प्रदर्शन गरिसकेको छ। फोर्स कमान्डरका रूपमा कृष्णनारायणसिंह थापा, बालानन्द शर्मा, पूर्णचन्द्र थापा जस्ता उच्च अधिकारीहरूले विभिन्न मिसनको सफल नेतृत्व गरेका छन् र हाल दक्षिण सुडानमा रथी गणेशकुमार श्रेष्ठ कार्यरत छन्।
आफ्नो २६३औँ वार्षिकोत्सव मनाउँदै गर्दा नेपाली सेनाले विश्व समुदायमाझ एक अनुशासित, विश्वसनीय र भरपर्दो शान्ति सैनिकको अमिट पहिचान बनाउन सफल भएको छ।