मुम्बई । आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले इटालीविरुद्ध जितका लागि १२४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभर पनि खेल्न सकेन र १९.३ ओभरमा १२३ रनमै सबै विकेट गुमायो। इटालीका बलरहरूको कसिलो बलिङसामु नेपाली ब्याट्सम्यानहरूले खुलेर खेल्न सकेनन् र नियमित अन्तरालमा विकेट गुमाउन पुगे।
नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए भने कप्तान रोहित पौडेलले २३ रनको योगदान दिए। त्यस्तै ओपनर आसिफ शेखले २०, करण केसीले अविजित १८ र दीपेन्द्र सिंह ऐरीले १७ रन जोडे पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङतर्फ इटालीका क्रिसन कलुगामागेले उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट लिए भने बेन मनेन्टीले दुई विकेट हात पारे। अलि हसन, जेजे स्मट्स र जसप्रीत सिंहले पनि एक–एक विकेट लिएर नेपाललाई सस्तैमा समेट्न भूमिका खेले। पहिलो खेलमा इङ्ल्यान्डसँग झिनो अन्तरले पराजित भएको नेपालका लागि यो खेल निकै महत्वपूर्ण मानिएको छ।