नवलपरासी पश्चिम १ मा विनोद चौधरी नै प्रमुख दावेदार, खनाल मत काट्ने प्रयासमा, हृदयेशलाई चुनौती
नारायण वली,
प्रकाशित २०८२ फागुन १ शुक्रबार
944
Shares
लुम्बिनी । पश्चिम नवलपरासी बर्दघाट सुस्ता पश्चिमको क्षेत्र न-१ मा चुनावी सरगर्मी बढेको छ । नेपाली कांग्रेसबाट सोही क्षेत्रका निवर्तमान सांसद विनोद चौधरी र नेपाली कांग्रेस लुम्बिनी प्रदेशका पूर्वमहामन्त्री विक्रम खनाल रास्वपाबाट उम्मेदवार बनेपछि हेभिवेट नेताहरुबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । लामो समय संसदीय राजनीतिमा पुग्दै आएका पात्र हृदयेश त्रिपाठी पनि बलिया दावेदार हुन् ।
नेपालको राजनीतिमा बलियो पहुँच भएका कांग्रेसका चौधरी, विभिन्न शक्ति सन्तुलनबाट संसदीय यात्रामा नवलपरासी पश्चिमबाट चुनाव जित्दै आएका हाल जसपाबाट त्रिपाठी र २०७९ को निर्वाचनमा चौधरीको चुनावी कमाण्डरको जिम्मेवारी पाएका लुम्बिनी कांग्रेसका पूर्वमहामन्त्री खनाल रास्वपाबाट उम्मेदवार बनेकाले चुनावी भिडन्त रोचक बन्ने देखिएको छ ।
निर्वाचन क्षेत्रको हिसाबबाट करिब २२ हजार स्थायी मतदाताको साथ भएका त्रिपाठीको पकेट क्षेत्रमा प्रखर उम्मेदवारहरुको लडाइँले त्रिपाठीलाई चुनौती रहेको स्थानीयहरु बताउँछन् । संगठनको दृष्टिले उक्त क्षेत्रमा कांग्रेस मजबुत देखिन्छ । तर कांग्रेसबाटै अलग भएर रास्वपामा गएका खनालले गर्दा ०७९ मा कांग्रेसबाट जितेका हालका उम्मेदवार चौधरीलाई केही कठिन पर्नसक्ने सुस्ता गाउँपालिका वडा नं ५ रतनगञ्जका भोला यादवले बताए ।
गत निर्वाचनमा विनोद चौधरीको चुनावी कमाण्डर बनेका पूर्वमन्त्री खनाललाई असहयोग गरेको भन्दै निष्काशन गरेको र पछि चर्काे आलोचना पश्चात् पुनः कारबाही फिर्ता लिए पनि पार्टीले टिकट नदिएपछि असन्तुष्ट जनाउँदै रास्वपामा प्रवेश गरेका थिए ।
उनको अवसरवादी चरित्र छताछुल्ल भएको अहिले कांग्रेसवृत्तमा चर्चा भइरहन्छ । पटकपटक सांसद तथा मन्त्री बनेका त्रिपाठी पार्टी फेरेर निर्वाचन लड्दै आएका छन् । गत निर्वाचनमा उनी पराजित भएका थिए । अहिले नेकपाले पहिले एमालेबाट सांसद बनेकी सिन्धू जलेसालाई उम्मेदवार बनाएको छ भने एमालेले सुस्ता गाउँपालिकाका पूर्वअध्यक्ष रहेका रामप्रसाद पाण्डेलाई उम्मेदवार बनाएको छ । राप्रपाबाट नवनितकुमार मिश्र उम्मेदवार छन् भने जनमतले गणेशबहादुर चौधरीलाई उम्मेदवार बनाएको छ ।
०७४ मा एमालेको समर्थनमा उम्मेदवार बनेर जितेका हृदयेश त्रिपाठी ०७९ मा जनता प्रगतिशील पार्टी बनाएर उम्मेदवार भएका थिए । अन्तिम समयमा एमाले उम्मेदवार सिन्धू जलेसाको उम्मेदवारी फिर्ता गराएर उनलाई समर्थन गरे पनि पराजित भएका थिए ।
प्रतिस्पर्धाको केन्द्रमा कांग्रेसका चौधरी र जसपाका उम्मेदवार त्रिपाठीलाई रास्वपाले चुनौती दिन खोजेको बुधबार नवलपरासी पश्चिमको क्षेत्र-१ को बलिगनगर, रामनगर, रतनगञ्ज, बैदौली, नर्सही र बसहिया लगायत स्थानमा पुगेर त्यहाँका स्थानीयहरुसँग हाम्राकुराकर्मीले गरेको स्थलगत चुनावी रिर्पोटिङका क्रममा यस्तो देखिएको हो ।
केरा र उखु खेतीको उर्वर एवं प्रमुख बाली हुने क्षेत्रका किसानले उत्पादन गर्ने कृषिजन्य पदार्थको मूल्य, बजारीकरण र मल बिउको बारेमा पटकपटक सांसद, मन्त्री बनेका त्रिपाठीले केही नगरेको आक्रोश स्थानीयहरुको छ ।
उता निवर्तमान सांसद चौधरीप्रति गत निर्वाचनमा केरालाई प्रशोधित गर्ने उद्योग खोल्ने प्रतिबद्धता जनाएका थिए । तर अचानक संसद विघठन भएपछि पूरा हुन सकेन ।
चौधरीले आफूले तीन वर्षमा गरेका कामको विवरण सार्वजनिक गरेका छन् र जनताको कठघरामा उभिन तयार रहेको बताइसकेका छन् । उनले जितेरै धेरै कामहरू सफल भएको स्थानीय जनप्रतिनिधिहरू बताउँछन् ।
एमालेबाट उम्मेदवार पूर्व सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेप्रति त्यति माहोल देखिएन भने नवलपरासीमा संगठनको हिसाबमा निकै कम सदस्य रहेको रास्वपाप्रति पहिलेका सांसदहरुले केही नगरेको असन्तुष्ट पोख्दै आकर्षित भएको देखियो ।
समानुपातिकतर्फ कांग्रेसको एकलौटी हुने दाबीसमेत गरिएको छ । लहर पनि त्यतै गइरहेको छ । कांग्रेस छाडेर रास्वपा गएका खनालले यसपटक चौधरीलाई त्यति ठूलो असर पुर्याउन नसक्ने कांग्रेसका स्थानीय कार्यकर्ताको विश्लेषण छ ।
त्रिपाठीले पार्टी फेर्दै अवसर लिएको तर निर्वाचन क्षेत्र र नागरिकका लागि केही परिवर्तन नगरेको मतदातासँग चर्काे गुनासो रहेकाले रास्वपासहित त्रिपक्षीय प्रतिष्पर्धा हुने भएकाले सहजै जित निकाल्न तीन वटै प्रतिष्पर्धी पार्टीलाई सकस रहेको प्रक्षेपण गरिएको छ । स्थानीयहरु भन्छन्, त्रिपाठी चुनावी उम्मेदवार त हुन् तर जनमत बलियो छैन, नयाँ र सबै पार्टीमा असन्तुष्टहरुको मत रास्वपामा जाने निश्चित छ, त्यसैले बलियो भनेर आँकलन नै गर्न सकिँदैन । पार्टीगत रुपमा कांग्रेस बलियो नै मान्निछ ।
नवलपरासी क्षेत्र न-१ मा बर्दघाट नगरपालिकाका, सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाका सबै वडा र सरावल गाउँपालिकाका वडा नम्बर ४, ५, ६ र ७ समेटिएका छन् । एक लाख २३ हजार ८० मतदाता छन् भने १ सय ४८ मतदान केन्द्र तोकिएको छ । राजनीतिक दल र स्वतन्त्र गरेर २६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
०७९ को निर्वाचनमा यस क्षेत्रबाट विनोद चौधरी विजयी भएका थिए । उनले २९ हजार ५ सय १९ मत प्राप्त गरेका थिए । जनता प्रगतिशील पार्टीबाट हृदयेश त्रिपाठीले २२ हजार ३ सय २८ मत प्राप्त गरेर पराजित भएका थिए । तेस्रोमा रास्वपाका महेन्द्र सेनले १२ हजार ४ सय ९९ मत पाएका थिए भने जनमतका गुलाब प्रसाद चौधरीले ५ हजार ९ सय ५२ र राप्रपाका भोजराज ढकालले ४ हजार ८ सय २५ मत प्राप्त गरेका थिए ।
यो आँकडा हेर्दा त्रिपाठीले पाएको मत अधिकांश एमालेको हो । अब एमालेको आफ्नै उम्मेदवार हुँदा त्यो भोट पनि बाँडिदा चौधरीलाई झन् सहज हुने देखिन्छ ।
०७९ मा समानुपातिकतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी २३ हजार ५ सय १५ मत प्राप्त गरेको थियो भने एमालेले १७ हजार १ सय ७२ मत प्राप्त गरेको थियो । त्यसैगरी रास्वपाले १० हजार ७ सय १८, जनमतले ७ हजार ४ सय १४ र राप्रपाले ६ हजार ४ सय ७७ मत प्राप्त गरेको थियो ।
जनता प्रगतिशील पार्टीको ३ हजार ९ सय ३६, नाउपाको ३ हजार ७ सय ७३, नेकपा माओवादी केन्द्रको ३ हजार २ सय ९६, जनमुक्तिको ८ सय ८४ र नेकपा एसको ४ सय ३ मत ल्याएको चुनावी अभिलेखमा छ ।