arrow

एनआईसी एशिया बैङ्कको आग्रह : कर सम्बन्धी सुविधा लिन खातामा प्यान र इमेल अद्यावधिक गर्नुहोस्

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २८ बुधबार
nica-asia-pan-email--udate-feb-2026.jpg

काठमाडौँ। एनआईसी एशिया बैङ्कले आफ्ना सम्पूर्ण ग्राहकहरूलाई आफ्नो बैङ्क खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ।

बैङ्कले एक सूचना जारी गर्दै, नेपाल सरकारको 'आयकर ऐन २०५८' बमोजिम कर कट्टीको विवरण (टीडीएस) लाई व्यवस्थित गर्न र ग्राहकलाई सहज सेवा प्रदान गर्नका लागि प्यान अद्यावधिक गर्नुपर्ने जनाएको हो।

किन आवश्यक छ प्यान अद्यावधिक गर्न ? बैङ्कका अनुसार निक्षेपकर्ताको ब्याज भुक्तानी बापत काटिएको करलाई ई-टीडीएस रेकर्डमा जनाउनको लागि प्यान नम्बर अनिवार्य रहेको छ। यदि ग्राहकले आफ्नो खातामा प्यान अद्यावधिक गराएमा, निजहरूको कर कट्टीको विवरण (ई-टीडीएस) सोही प्यानमा प्रविष्ट गरिन्छ।

यसो गर्दा आयकरको प्रणालीले स्वचालित रूपमा 'अनुसूची १०' मा कर कट्टीको विवरण मिलान गर्ने गर्दछ। फलस्वरूप, ग्राहकहरूले कर कट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न निकै सहज हुनेछ भने प्रमाणपत्र लिनकै लागि बैङ्कको शाखासम्म धाउनुपर्ने बाध्यताको समेत अन्त्य हुने विश्वास बैङ्कले लिएको छ।

बैङ्कले यो पनि स्पष्ट पारेको छ कि ग्राहकले प्यान अद्यावधिक नगराएको कारणले ई-टीडीएस मा ब्याज कर दाखिला नभएमा वा त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नु परेको अवस्थामा बैङ्क जिम्मेवार हुनेछैन।

कसरी गर्ने अद्यावधिक ? ग्राहकहरूको सहजताका लागि बैङ्कले घरबाटै डिजिटल माध्यमबाट प्यान र इमेल अद्यावधिक गर्न सकिने व्यवस्था मिलाएको छ।

प्यानका लागि: ग्राहकले बैङ्कको पोर्टल panupdate.nicasiabank.com वा एनआईसी एशियाको मोबाइल बैङ्किङ एप (एनआईसी एशिया मोबैङ्क) मा रहेको "प्यान अपडेट" विकल्पमा ट्याप गरी विवरण अद्यावधिक गर्न सक्नेछन्।

इमेलका लागि: बैङ्कको भिडियो केवाईसी लिङ्क https://www.nicasiabank.com/video-kyc/ वा मोबाइल बैङ्किङ एपमा रहेको 'माई प्रोफाइल' भित्र गई ' चेन्ज इमेल' विकल्प छानेर इमेल अद्यावधिक गर्न सकिनेछ।

डिजिटल माध्यमको अलावा ग्राहकहरूले आफूलाई पायक पर्ने एन आई सी एशिया बैङ्कको जुनसुकै शाखा कार्यालयमा गएर पनि प्यान र इमेल अद्यावधिकको आवेदन दिन सक्नेछन्।

साथै, यसअघि नै बैङ्कलाई प्यान उपलब्ध गराएर पनि कर कट्टीको विवरण समावेश नभएको वा इमेल अद्यावधिक नभएको खण्डमा बैङ्कको नजिकको शाखा वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०–०१–७७७७१ वा ०१–५९७०१०१ मा सम्पर्क गर्न बैङ्कले अनुरोध गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ