सुनसरी–१ को भिडन्त: २६ उम्मेदवार मैदानमा, हर्क साम्पाङदेखि सुजेन्द्र र टिकारामसम्मको टक्कर
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २७ मंगलबार
985
Shares
काठमाडौँ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरी निर्वाचन क्षेत्र नं १ मा २६ जना उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ। यहाँ विभिन्न राजनीतिक दलका १९ र स्वतन्त्रतर्फका सात जना प्रत्याशी चुनावी मैदानमा उत्रिएका छन्। पुराना दलहरू नेकपा (एमाले), नेपाली कांग्रेस, र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सँगै राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृति पार्टी र नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरूले यसपटक प्रतिस्पर्धालाई थप रोचक बनाएका छन्।
यस क्षेत्रमा ३१ देखि ६८ वर्ष उमेर समूहका उम्मेदवारहरू प्रतिस्पर्धामा छन्। सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका ३१ वर्षीय राजकुमार लिम्बु यस क्षेत्रका सबैभन्दा कान्छा उम्मेदवार हुन् भने राष्ट्रिय साझा पार्टीका ६८ वर्षीय भुपी राई ज्येष्ठ उम्मेदवारका रूपमा मैदानमा छन्। उम्मेदवारहरूमा धरान उपमहानगरपालिकाका पूर्वप्रमुख तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ, नेकपाबाट सूर्य भट्टराई, नेपाली कांग्रेसबाट सुजेन्द्र तामाङ र नेकपा (एमाले) बाट टिकाराम लिम्बू रहेका छन्।
त्यस्तै, रास्वपाबाट सरिन तामाङ, नेमकिपाका महेश श्रेष्ठ, मङ्गोल नेशनल अर्गनाइजेसनका राजेन्द्र गुरुङ र अन्य साना दलका प्रतिनिधिहरू पनि आ–आफ्नो एजेन्डासहित मतदातामाझ पुगेका छन्। स्वतन्त्र उम्मेदवारका रूपमा देउमान लिम्बू, सञ्जयकुमार राई, ओमकृष्ण उदास, शेषप्रसाद रेग्मीसहित आठ जनाले आफ्नो दावेदारी प्रस्तुत गरेका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार यस क्षेत्रमा कुल एक लाख ५० हजार ३९३ जना मतदाता रहेका छन् भने मतदानका लागि ४१ मतदानस्थल र १६१ मतदान केन्द्र कायम गरिएको छ।