arrow

गौरीगञ्जमा ओली, अन्धविश्वास विरुद्ध जुट्न आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २७ मंगलबार
kp-oli-10-27.jpg

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापाको सुदूर दक्षिणमा रहेको गौरीगञ्जसँग आफ्नो आधा शताब्दी लामो सम्बन्ध रहेको स्मरण गर्दै यसको बदलिँदो स्वरूपलाई ‘सेल्फी रोड’ को संज्ञा दिएका छन्। २०२६ सालदेखि यस क्षेत्रको सङ्गठन विस्तारमा सक्रिय रहेका उनले यहाँका पूर्वाधार, सामाजिक सुरक्षा र डिजिटल पहुँचलाई समृद्धिको नमुनाका रूपमा प्रस्तुत गरे। विकास भनेको बाटो र पुल मात्र नभएर शिक्षा र चेतना पनि भएको उल्लेख गर्दै उनले अन्धविश्वास विरुद्ध नयाँ बहसको सुरुवात गरेका छन्।

उनले हुलाकी राजमार्गलाई विकासको मेरुदण्ड मान्दै आफू सांसद र प्रतिपक्षमा हुँदा लेराको पुलका लागि गरेको मागलाई धेरैले जिस्क्याएको भए पनि आज हुलाकी राजमार्गको संकल्पले त्यो सपना पूरा भएको बताए। केही पुलहरूमा देखिएका प्राविधिक त्रुटि सुधार गरी पुनर्निर्माण गरिने प्रतिबद्धता उनले जनाए। २०२६–२७ सालको गौरीगञ्ज र आजको आधुनिक स्वरूपमा आकाश–पातालको फरक रहेको भन्दै उनले चिल्ला सडक र पक्की पुलहरूले गाउँको मुहार फेरेको दाबी गरे। ४जी इन्टरनेट र मोबाइल सेवाको पहुँचले नागरिकलाई संसारसँग जोडेको र सञ्चार क्रान्तिले डिजिटल पहुँच बढाएको उनको भनाइ छ।

सामाजिक सुरक्षाका क्षेत्रमा २०५१ सालदेखि सुरु भएको भत्तालाई ४ हजार पुर्‍याएर ज्येष्ठ नागरिक र असहायलाई सम्मानजनक जीवन दिएको ओलीले उल्लेख गरे। उनले मधेसी र पहाडीबीचको कृत्रिम विभाजन अन्त्य गरी राष्ट्रिय एकता बलियो बनाउनुपर्नेमा जोड दिए। गरिबी र पछौटेपनलाई संस्कृति मान्न नसकिने तर्क गर्दै उनले गुइँठाको साटो बिजुली र ग्यासको प्रयोग गर्नुपर्ने बताए। समाजमा व्याप्त बोक्सी जस्ता अन्धविश्वासलाई जरैदेखि उखेल्नुपर्ने र तन्त्र–मन्त्रको भ्रममा नपर्न उनले सबैलाई आग्रह गरे।

शिक्षालाई विकासको बलियो आधार मान्दै उनले छोराछोरीलाई शिक्षित बनाउनु नै गरिबी निवारणको मुख्य अस्त्र भएको बताए। युवा पुस्तालाई लागुपदार्थ जस्ता कुलतबाट जोगिन र भ्रमको पछाडि नलाग्न उनले सुझाव दिए। अधिकारको सही प्रयोग अर्थात् सही ठाउँमा मतदान गरेर मात्र समृद्ध नेपालको जग बसाल्न सकिने उनको धारणा छ। परिवर्तन आगो लगाएर होइन, निर्माण र विकास गरेर हुने भन्दै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य प्राप्तिका लागि सबैको साथ र समर्थनको अपेक्षा गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ