arrow

ओलीको आरोप - बालेन काठमाडौँका मतदातालाई ढाँट्न नसकेपछि झापा झरे [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २६ सोमबार
kp-sharma-oli-10-26.jpg

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँका जनताले नपत्याउने अवस्था भएपछि वालेन्द्र साह (बालेन) झापातिर आएको बताएका छन्।

सोमबार झापामा आयोजित मतदाता भेटघाट कार्यक्रममा उनले आफ्नै जिल्लाका मानिसले नपत्याउने भएपछि काठमाडौँमा जितिसकेको मान्छेले त्यहाँबाट फेरि चुनाव उठ्ने आँट नगरेको टिप्पणी गरे।

आफ्नै जिल्लामा कसैलाई ढाँट्न नसकिने भएकाले बालेन अन्यत्र जानुपरेको उनको दाबी छ।

काठमाडौँमा काम देखाउन नसकेकै कारण बालेनले आफ्नो क्षेत्र छोडेर झापा आएको कुरालाई साथीहरूले बुझ्न जरुरी रहेको उनले उल्लेख गरे।

ओलीले पछिल्लो समय सामाजिक सद्भाव बिथोल्ने गरी मधेसी र पहाडीबीचको खाडल बढाउने कुराहरू सुन्न थालिएकोमा चिन्ता व्यक्त गरे।

उनले सामाजिक न्याय र समानताका आधारमा मात्र सामाजिक सद्भाव कायम हुने र त्यसैको जगमा राष्ट्रिय एकता बलियो हुने बताए।

मधेसी र पहाडी भनेर विभाजनकारी कुरा गर्नुभन्दा पनि सबै एकताबद्ध भएर आफ्नो गाउँ, ठाउँ र जिल्ला बनाउनतिर लाग्नुपर्नेमा उनले जोड दिए।

समाजमा विद्वेष फैलाउने कुराले देशको हित नगर्ने भन्दै उनले सबै नेपालीलाई मिलेर बस्न आग्रह गरे।

देश विकासका लागि जात वा क्षेत्रभन्दा पनि विचार र दृष्टिकोण महत्वपूर्ण हुने ओलीको भनाइ छ।

कुन जातको उम्मेद्वार छ भनेर देश नबन्ने भन्दै उनले नीति, योजना, सङ्कल्प र निरन्तरको प्रयासले मात्र देश समृद्धि तर्फ जाने बताए।

त्यसकारण जातका कुरा गरेर हिँड्नुको सट्टा स्पष्ट विचार र विकासको एजेन्डा बोकेर अघि बढ्नुपर्ने उनले सुझाव दिए।

निर्वाचनको समयमा यस्ता साम्प्रदायिक र क्षेत्रगत कुराहरूभन्दा देश बनाउने योजनामा बहस हुनुपर्ने उनको तर्क छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ