arrow

मेघालयको कोइलाखानी विस्फोटमा मृत्यु भएका तीन नेपालीको शव ल्याउन समस्या

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २६ सोमबार
koila-khani-india-blast.jpg

खोटाङ । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटका घटनामा नेपालका तीन युवकले अकालमा ज्यान गुमाएका छन् भने अझै एक जना बेपत्ता भएका छन् । सो घटनामा अन्य दुई जना गम्भीर घाइते भएका जनाइएको छ ।

मेघालयस्थित पूर्वी जयन्तीया हिल्समा सञ्चालित अवैध कोइलाखानीमा यही माघ २२ गते विस्फोट हुँदा यहाँको बरापोखरी गाउँपालिका-१ बरापोखरी सालघारीस्थित भञ्ज्याङका २७ वर्षीय पूर्णिराम खपाङ्गी मगर, २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर र ३५ वर्षीय नरबहादुर खपाङ्गी मगरको मृत्यु भएको हो ।

कामदार कोइलाखानीभित्र काम गर्दैगर्दा भएको विष्फोटमा परेका हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिमस्थित जोरकाफलका ५० वर्षीय रत्न राई बेपत्ता भएको जानकारी आएको छ । विस्फोटपछि बेपत्ता भएका राईको कोइलाखानीभित्रै जलेर ज्यान गएको हुन सक्ने जनाइएको छ ।

मेघालयमासँगै बसेर काम गर्दै भएका भोजपुरका आफन्तका अनुसार रत्न कोइलाखानीभित्र पसेको समयमा विस्फोट भएको खबर आएको दुर्छिमका युवा नेता नेत्रविक्रम राउतले बताए ।

विष्फोटपछि उद्धार गर्नेक्रममा कोइलाखानीभित्र भेटिएका शव आगोले डढेर नचिनिने अवस्थामा रहेकोसँगै बस्दै आएका आफन्तले परिवारलाई जानकारी गराएका छन् ।

विष्फोटमा बेपत्ता रत्नको नागरिकता, डायरी र मोबाइल कोठामै भेटिएको जनाइएको छ । कोइलाखानीमा बेपत्ता रत्न रोजगारीका सिलसिलामा गत असोज ९ गते मेघालय गएको आफन्तले जनाएका छन् ।

विष्फोटमा गम्भीर घाइते भएका नरबहादुरको उपचारको क्रममा यही माघ २३ गते मृत्यु भएको जानकारी प्राप्त भएको स्थानीय शिवकुमार श्रेष्ठले जानकारी दिए ।

घटना भएकै दिन ज्यान गुमाएका पूर्णिराम र सुरेन्द्र एकै घरका दाजुभाइ भएको स्थानीयवासी इन्द्र लिमेल मगरले जानकारी दिए ।

विस्फोटमा परेका बरापोखरी गाउँपालिका-१ सालघारीकै ४६ वर्षीय कर्णबहादुर खपाङ्गी मगर, भञ्ज्याङका ४० वर्षीय बमबहादुर खपाङ्गी मगर र उदयपुर साउनेका ४० वर्षीय ललित लुङ्गेली मगर गम्भीर घाइते छन् ।

उनीहरुको मेघालयकै स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको सँगै काम गर्दै आएका राहपोखरीस्थित वालम्पाका ताराबल मगरले बताए ।

विष्फोटपछि ताराबलले नै फोनमार्फत घटनाको बारेमा जानकारी गराएको मृतकका आफन्तले बताएका छन् । विष्फोटमा ज्यान गुमाएका खोटाङ्गे युवाको शव मेघालयबाट नेपालमा ल्याउनका लागि परिवारका सदस्यलाई कठिनाइ भएको छ ।

विष्फोटमा आफन्तको ज्यान गएको जानकारी प्राप्त भएपछि घरबाट तीन दिन लगाएर भारतको मेघालय पुगेको मृतकका आफन्त प्रकाश खपाङ्गी मगरले जानकारी दिए ।

शव स्वदेश ल्याउन तथा गम्भीर घाइतेको उपचारका लागि सहयोग सङ्कलन अभियान शुरूआत गरिएको स्थानीयवासी प्रकाश बञ्जराले जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ