मेघालयको कोइलाखानी विष्फोटले खोटाङमा शोक, शव ल्याउन सहयोग जुटाउँदै स्थानीय
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २६ सोमबार
663
Shares
खोटाङ । भारतको मेघालयस्थित पूर्वी जयन्तीया हिल्समा सञ्चालित एक अवैध कोइलाखानीमा भएको भीषण विस्फोटमा परी खोटाङका तीन युवकले ज्यान गुमाएका छन्। यही माघ २२ गते भएको उक्त घटनामा बरापोखरी गाउँपालिका–१ सालघारीका २७ वर्षीय पूर्णिराम खपाङ्गी मगर, २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर र ३५ वर्षीय नरबहादुर खपाङ्गी मगरको मृत्यु भएको हो।
ज्यान गुमाउनेमध्ये पूर्णिराम र सुरेन्द्र एकै घरका दाजुभाइ हुन्। विस्फोटमा परेर हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ५० वर्षीय रत्न राई अझै बेपत्ता छन्। उनी कोइलाखानीभित्रै रहेको समयमा विस्फोट भएको र उनको शव आगोले डढेर चिन्न नसकिने अवस्थामा हुन सक्ने आशङ्का गरिएको छ।
रोजगारीका लागि गत असोजमा मात्र भारत पुगेका रत्नको नागरिकता, डायरी र मोबाइल कोठामै भेटिएको छ। विस्फोटमा परी गम्भीर घाइते भएका नरबहादुरको भने उपचारका क्रममा माघ २३ गते मृत्यु भएको जानकारी प्राप्त भएको छ। घटनामा खोटाङकै कर्णबहादुर खपाङ्गी मगर, बमबहादुर खपाङ्गी मगर र उदयपुरका ललित लुङ्गेली मगर गम्भीर घाइते भएका छन्। उनीहरूको अहिले मेघालयकै स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। सँगै काम गर्ने साथीहरूले फोनमार्फत घटनाको जानकारी दिएपछि खोटाङ र उदयपुरमा रहेका उनीहरूका परिवार शोकमा डुबेका छन्।
विस्फोटमा ज्यान गुमाएका युवाहरूको शव नेपाल ल्याउन परिवारलाई ठुलो आर्थिक र कानुनी कठिनाइ भइरहेको छ। घटनाको खबर पाएपछि मृतकका आफन्त प्रकाश खपाङ्गी मगर तीन दिनको यात्रा तय गरेर मेघालय पुगेका छन्। शव स्वदेश ल्याउन र घाइतेहरूको उपचार खर्च जुटाउन स्थानीय स्तरमा सहयोग सङ्कलन अभियान समेत सुरु गरिएको छ। अवैध रूपमा सञ्चालित खानीमा सुरक्षा मापदण्ड नअपनाइएका कारण यस्ता दुर्घटना पटक–पटक हुने गरेको र नेपाली कामदारहरूले अकालमा ज्यान गुमाउनुपरेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।