arrow

विवाह भोज बन्यो विष: खोटाङमा बेहुला–बेहुलीसहित सिङ्गो गाउँ नै बिरामी

विवाह भोज खाँदा बेहुला–बेहुलीसहित दुई सय जना बिरामी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २५ आइतबार
Khotang-hamrakura.jpg.jpeg

काठमाडौँ । खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबै जना बिरामी भएपछि गाउँमै शिविर खडा गरेर उपचार थालिएको छ।

भोज खाएको करिब १२ घण्टापछि स्थानीयमा ज्वरो आउने र झाडापखाला लाग्ने समस्या देखिएपछि निगालावासस्थित रामकुमार राईको घरमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। माघ २१ गते आयोजित विवाह भोजका कारण 'फुडपोइजन' भएको आशङ्का गरिएको छ। माघ २२ गते बेलुकादेखि बिरामी पर्न थालेका स्थानीयको संख्या बढ्दै गएपछि गाउँपालिकाको स्वास्थ्य शाखा, स्वास्थ्य कार्यालय खोटाङ र जनप्रतिनिधिहरूको टोली उपचारमा खटिएका छन्।

बिरामीको चाप अत्यधिक बढेपछि स्वास्थ्य कार्यालयबाट थप औषधिसहितको जनशक्ति मगाइएको गाउँपालिकाका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिए। उनका अनुसार उपचारका लागि शिविरमा आउनेजाने क्रम अझै जारी छ।

गाउँपालिकाले माघ २३ गतेदेखि नै निगालावास भञ्ज्याङमा बिरामीहरूलाई भेला गरेर उपचारको व्यवस्था मिलाएको हो। भोज खाएर फर्किएका उदयपुर र काठमाडौँका पाहुनाहरू समेत बिरामी परेको खबर प्राप्त भएको गाउँपालिका अध्यक्ष अरुणादेवी राईले बताइन्। हाल शिविरमा ३५ जनालाई स्लाइनपानी र औषधि दिएर राखिएको छ भने विवाहमा सहभागी करिब २०० जना नै प्रभावित भएको अनुमान गरिएको छ।

स्वास्थ्य कार्यालयका प्रमुख कुलबहादुर पौडेलका अनुसार फुडपोइजनको वास्तविक कारण पत्ता लगाउने प्रयास भइरहेको छ। विवाह भएको धेरै दिन भइसकेकाले भोजको नमूना (स्याम्पल) सङ्कलन गर्न कठिन भए पनि काठमाडौँ पुगेका एक बिरामीलाई टेकु अस्पताल पठाइएको उनले जानकारी दिए।

समयमै उपचार सुरु गरिएकाले कुनै अप्रिय घटना नहुनेमा स्वास्थ्यकर्मीहरू विश्वस्त छन्। गम्भीर प्रकृतिका बिरामीहरूलाई आधारभूत अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ भने सामान्य अवस्थाका बिरामीहरू उपचारपछि घर फर्कन थालेका छन्। गाउँपालिकाले प्रभावित क्षेत्रमा निगरानी बढाइरहेको सूचना अधिकारी विनय निरौलाले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ