काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय संकल्प प्राचीन नेपाली सभ्यता र वेदको मर्मबाटै निर्देशित भएको बताएका छन्। एक धार्मिक अनुष्ठानलाई सम्बोधन गर्दै उनले नेपाल पाँच हजार वर्ष पुरानो गौरवशाली इतिहास बोकेको देश भएको र यहाँको ज्ञान–विज्ञानको परम्परा विश्वमै अग्रणी रहेको दाबी गरे।
शास्त्रहरूमा उल्लेखित ‘सर्वे भवन्तु सुखिनः’ (सबै सुखी हुन्) भन्ने मन्त्रलाई नै आफूले आधुनिक युगको समृद्धिको आधार बनाएको उनको तर्क थियो। सो अवसरमा ओलीले ‘हिन्दु राष्ट्र’ र ‘सनातन धर्म’ बीचको भिन्नता प्रस्ट्याउँदै सनातन परम्परालाई नेपालको मूल सभ्यता र सबै नेपालीको साझा सम्पत्तिका रूपमा व्याख्या गरे। ‘हिन्दु राष्ट्र’ शब्द पछिल्ला केही शताब्दीमा मात्र चर्चामा आएको भन्दै उनले सनातन धर्मलाई व्यापक अर्थमा बुझ्नुपर्नेमा जोड दिए।
सम्बोधनका क्रममा ओलीले चिकित्सा विज्ञान (सर्जरी) को सुरुवात समेत नेपालकै भूमिबाट भएको रोचक तथ्य प्रस्तुत गरे। उनले ऋषि विश्वामित्रका छोरा सुश्रुत विश्वकै पहिलो सर्जन भएको र उनले यही धर्तीमा शल्यक्रियाको जग बसालेको दाबी गरे। नेपाललाई ‘देवभूमि’, ‘तपोभूमि’ र ‘ज्ञानभूमि’ को संज्ञा दिँदै उनले यहाँका पुर्खाहरूले सधैँ विश्व शान्ति र मानव कल्याणको कामना गरेको स्मरण गरे। आकाश, पृथ्वी, जल, र वनस्पति सबैमा शान्ति हुनुपर्छ भन्ने वैदिक मन्त्रहरूको चर्चा गर्दै उनले हराउँदै गएको नेपालको गौरवलाई पुनः स्थापित गर्ने आफ्नो मुख्य संकल्प रहेको बताए।
अध्यक्ष ओलीले आफू निर्वाचनको मैदानमा उम्मेदवारका रूपमा रहेकाले आचारसंहिताप्रति पूर्ण सचेत रहेको समेत स्पष्ट पारे। उनले आफू चुनाव प्रचारका लागि नभई देश बनाउने महान् उद्देश्य र संकल्प दोहोर्याउन धार्मिक कार्यक्रममा सहभागी भएको बताए। आचारसंहिताकै कारण आफूले चाहेर पनि पुराणमा दान गर्न नपाएको बाध्यता सुनाउँदै उनले राजनीति र धर्मलाई जनहितका लागि जोड्नुपर्ने धारणा राखे। उनले नेपाली जनतालाई डर र त्रासरहित वातावरणमा सुखी बनाउनु नै आफ्नो राजनीतिको मूल लक्ष्य रहेको उद्घोष गरे।