काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले अर्को हप्ताको शुरूमा इरानसँग थप वार्ता गर्ने जानकारी दिएका छन्।
ओमानमा इरानसँग भएको धेरै राम्रो अप्रत्यक्ष संवादको केही घण्टापछि ट्रम्पले यस्तो घोषणा गरेका हुन्। फ्लोरिडाको मार-एऔलागो क्लबतर्फ जाँदै गर्दा एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफूहरूले इरानको बारेमा धेरै सकारात्मक कुराकानी गरेको बताए।
उनी सम्झौतासम्बन्धी विवरण अहिले हेर्नुपर्ने तर इरान सम्झौता गर्न धेरै इच्छुक देखिएको पनि बताए।
ट्रम्पले अर्को हप्ता पुनः भेट्ने योजना रहेको बताउँदै यदि इरानले आफ्नो आणविक कार्यक्रमसम्बन्धी सम्झौता गर्न असफल भए त्यसको परिणाम निकै गम्भीर हुने चेतावनी पनि दिए।
अमेरिकाको प्रतिक्रिया स्वरूप सो क्षेत्रमा अमेरिकी नौसेनाको ठूलो युद्धपोत समूह पठाइँदैछ र चाँडै पुग्ने समेत उनले उल्लेख गरे।
स्थानीय सञ्चारमाध्यमका अनुसार ओमानमा भएको वार्तामा अमेरिकी राष्ट्रपतिका विशेष दूत स्टिभ विटकफ, ट्रम्पका ज्वाइँ जारेड कुश्नर र अमेरिकी सेन्ट्रल कमाण्डका कमाण्डर एडमिरल ब्राड कुपर सहभागी थिए।