गुच्चा खेल्नेहरूले देश चलाउँछु भन्नु ठट्टा मात्र हो: ओली
अनुभवहीनले देश चलाउँछु भन्नु हाँस्यास्पद
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २२ बिहिबार
2.4k
Shares
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अनुभव नभएका व्यक्तिहरूले प्रधानमन्त्री बन्ने दाबी गर्नु हाँस्यास्पद भएको बताएका छन्। झापामा स्थानीय बासिन्दासँगको भेटघाटका क्रममा उनले यस्तो टिप्पणी गरेका हुन्।
उनले भोट हाल्ने भन्दा बढी राजनीतिक अनुभव नभएकाहरूले देश चलाउने सपना देख्नु केटाकेटीपन भएको उल्लेख गर्दै देश चलाउने कुरा कुनै खेल वा ठट्टा नभएको प्रस्ट पारे। ओलीका अनुसार देश हाँक्नका लागि स्पष्ट दर्शन, नीति र सिद्धान्तको आवश्यकता पर्छ, जुन नयाँ र अनुभवहीन शक्तिहरूसँग छैन।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहप्रति लक्षित गर्दै उनले एउटा पनि आम निर्वाचनको अनुभव नलिएको व्यक्ति प्रधानमन्त्री हुन्छु भनेर हिँड्नु अचम्मको विषय भएको बताए।
उनले विश्वका शक्तिशाली देशहरूको उदाहरण दिँदै अमेरिका जस्तो मुलुकमा ८० वर्षका अनुभवी नेताहरूले सरकार चलाइरहेकै कारण त्यहाँको प्रणाली जोगिएको तर्क गरे। नेपालमा भने ७० वर्ष पुगेका अनुभवी नेताहरूलाई 'बुढा' भनेर आलोचना गर्ने गरिए पनि वास्तवमा खारिएको अनुभव भएका व्यक्तिले नै देशलाई सही दिशा दिन सक्ने उनको दाबी छ।
उनले नयाँ शक्तिहरूलाई कटाक्ष गर्दै केही नजानेका, गुलेली र मट्याङ्ग्रा खेल्दै गरेकाहरूलाई देशको जिम्मा लगाउनु पर्ने कुरा गर्नु अव्यवहारिक भएको बताए। उनले राजनीतिमा लागेका र देशको भूगोल बुझेका अनुभवी नेताहरूको विकल्प अरू हुन नसक्ने जिकिर गरे।
ओलीले आफ्ना कार्यकर्ता र समर्थकहरूलाई सम्बोधन गर्दै लहड र होहल्लाको भरमा देश चल्न नसक्ने भएकाले गम्भीर भएर सोच्न आग्रह गरे। उनले आगामी निर्वाचनमा पनि अनुभव र स्पष्ट नीति भएकै शक्तिलाई जनताले रोज्नुपर्नेमा जोड दिए।