कांग्रेसभित्र गुटबन्दीको अन्त्य भइसक्यो, अब विकासको पालो: विनोद चौधरी
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २२ बिहिबार
2k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका तर्फबाट नवलपरासी क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद चौधरीले अब पार्टीभित्र गुटको राजनीति समाप्त भएको दाबी गरेका छन्।
बर्दघाटमा आयोजित कार्यकर्ता छलफलका क्रममा उनले विगतमा आफ्नै पार्टीभित्रको आन्तरिक कलह र गुटगत प्रवृत्तिका कारण अरूले फाइदा उठाउने गरेको भए पनि अहिले त्यो अवस्था नरहेको बताए। उनले कांग्रेस अब स्पष्ट विकास र समृद्धिको एजेन्डा लिएर अघि बढेको उल्लेख गर्दै स्थायी सरकार, आर्थिक रूपान्तरण र रोजगारी सिर्जना नै पार्टीको मुख्य प्राथमिकता रहेको धारणा राखे।
चौधरीले आफू यस क्षेत्रका लागि नयाँ अनुहार नभएको भन्दै यहाँका स्थानीय समस्या र आवश्यकताहरूसँग राम्ररी परिचित रहेको बताए। आफ्नो पाँच वर्षे सांसद कार्यकालमध्ये जम्मा ३० महिना मात्रै काम गर्न पाएको स्वीकार गर्दै उनले धेरै योजनाहरू अझै अधुरा रहेको र ती काम पूरा गर्ने प्रतिबद्धता जनाए।
उनका अनुसार यस क्षेत्रको सबैभन्दा ठुलो समस्याका रूपमा रहेको नागरिकताको मुद्दालाई कांग्रेसले पछिल्लो ३० महिनामै समाधान गरिसकेको छ। भूमि सम्बन्धी कामहरू पनि तीव्र गतिमा अगाडि बढिरहेकाले अब विकासले थप गति लिने उनले विश्वास दिलाए।
चौधरीले कार्यकर्ताहरूलाई सम्बोधन गर्दै विगतका उपलब्धिहरूले यस क्षेत्रमा विकासको बलियो जग बसालेको र अब त्यसलाई नतिजामा बदल्ने समय आएको बताए। उनले चुनावी मैदानमा उत्रिँदै गर्दा जनताको मन जित्नका लागि ठोस योजना र कार्यान्वयनको खाँचो रहेकोमा जोड दिए।
आफ्नो कार्यकालमा सुरु भएका अधुरा परियोजनाहरूलाई पूर्णता दिन पुनः जनताको समर्थन आवश्यक रहेको उनले उल्लेख गरे। नवलपरासीको यस क्षेत्रमा उनको सक्रियता र विकासप्रेमी छविका कारण चुनावी प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ।