arrow

जापानको औपचारिक भ्रमण पूरा गरेर स्वदेश फर्किए राष्ट्रपति पौडेल 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २१ बुधबार
ramchandra-japan-visit.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण पूरा गरेर बुधबार स्वदेश फर्किएका छन्। टोकियोस्थित नारिता विमानस्थलबाट उनी काठमाडौँ ओर्लिएका हुन्।

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका अवसरमा जापान सरकारको विशेष निमन्त्रणामा उनी आइतबार राति त्यसतर्फ प्रस्थान गरेका थिए। उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार जापान पुगेका उनले आफ्नो चार दिने भ्रमणका क्रममा महत्त्वपूर्ण कूटनीतिक भेटघाटहरू गरेका छन्।

भ्रमणको मुख्य आकर्षणका रूपमा राष्ट्रपति पौडेलले टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गरे। सो अवसरमा दुई देशबीचको ऐतिहासिक र जनस्तरको सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा छलफल भएको थियो।

यस्तै, उनले टोकियोमा आयोजित ७०औँ वार्षिकोत्सवको विशेष समारोहलाई सम्बोधन गर्दै नेपालको विकासमा जापानको सहयोग र सद्भावको प्रशंसा गरे। यो भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कूटनीतिक गरिमा बढाउन सहयोग पुगेको ठानिएको छ।

जापान बसाइका क्रममा उनले त्यहाँका प्रधानमन्त्री ताकाइची सानाए र विदेश राज्यमन्त्री होरिइ इवाओसँग पनि शिष्टाचार भेटवार्ता गरे। भेटका क्रममा आर्थिक सहयोग, प्रविधि हस्तान्तरण र द्विपक्षीय हितका विविध आयामबारे छलफल भएको थियो।

७० वर्ष लामो कूटनीतिक यात्रालाई थप उचाइमा पुर्‍याउन यो भ्रमण सफल रहेको अधिकारीहरूले बताएका छन्। राष्ट्रपति पौडेलको यो भ्रमणले नेपाल-जापान मित्रताको पुरानो गाँठोलाई फेरि एक पटक कसिलो बनाएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ