एमाले सिध्याउन भित्र र बाहिरका शक्ति लागे तर हामी डराउँदैनौँ: ईश्वर पोखरेल [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २१ बुधबार
859
Shares
काठमाडौँ । नेकपा (एमाले) का नेता ईश्वर पोखरेलले आफ्नो पार्टीलाई कमजोर बनाउन र सिध्याउन देशभित्र र बाहिरका शक्तिहरूले अनेकौँ षड्यन्त्र गरिरहेको टिप्पणी गरेका छन्। बुधबार काठमाडौँ उपत्यकाका उम्मेदवारहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एमालेमाथि भइरहेका देखिने र नदेखिने खालका गतिविधिप्रति सतर्क रहनुपर्ने बताए।
बाहिरी षड्यन्त्रहरूलाई चिर्नका लागि पार्टीको आन्तरिक एकता बलियो हुनुपर्नेमा जोड दिँदै उनले अहिले एमालेले आन्तरिक सुदृढीकरणलाई नै प्राथमिकता दिएको दाबी गरे। पार्टीभित्र कमजोरी देखिएमा मात्र बाह्य शक्तिले खेल्ने मौका पाउने उनको ठम्याइ छ।
एमालेको चुनावी तयारीका बारेमा जानकारी दिँदै पोखरेलले आसन्न निर्वाचनको चुनावी घोषणापत्रको काम अन्तिम चरणमा पुगेको बताए। यस पटकको घोषणापत्रमा एमालेले आफूले गर्न सक्ने कामहरूको मात्र एजेन्डा राख्ने र त्यसमा स्पष्ट समयसीमा समेत तोकिने उनले जानकारी दिए।
जनतालाई भ्रममा पार्ने खालका नभई कार्यान्वयन गर्न सकिने योजनाहरू मात्रै समावेश गरिने भएकाले एमालेको एजेन्डामा कुनै अलमल हुनुपर्ने अवस्था नरहेको उनले उल्लेख गरे। चुनावी मैदानमा होमिँदा पार्टीको स्पष्ट दृष्टिकोण र बलियो संगठन नै आफ्नो मुख्य हतियार हुने उनको विश्वास छ।
कार्यक्रममा पोखरेलले पछिल्लो समय चर्चामा रहेको 'जेन-जी' आन्दोलनका बारेमा पनि आफ्नो धारणा राखेका छन्। उनले युवाहरूको आन्दोलनप्रति पार्टीको विरोध नरहेको तर त्यसको नाममा भएका राष्ट्रहित विपरीतका गतिविधिप्रति मात्रै एमालेको गम्भीर आपत्ति रहेको स्पष्ट पारे।
कुनै पनि आन्दोलनले देशको सार्वभौमिकता र राष्ट्रिय स्वार्थलाई आँच पुर्याउन नहुने उनको भनाइ छ। एमाले सधैँ परिवर्तनको पक्षमा उभिएको शक्ति भएकाले देशको हितमा हुने युवाका हरेक कदमलाई भने सम्मान गर्ने उनले बताए।