arrow

आगामी फागुन २ देखि ०८३ को पात्रो बजारमा आउने: १८ वटा पञ्चाङ्गले पाए स्वीकृति

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २१ बुधबार
nepal-panchanga-nirnayak.jpg

काठमाडौँ । विसं २०८३ को नयाँ पात्रो (पञ्चाङ्ग) आगामी फागुन २ गतेदेखि बजारमा आउने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका वर्तमान र पूर्व पदाधिकारी, धर्मशास्त्रविद्, ज्योतिष विज्ञ र विभिन्न समुदायका प्रतिनिधिहरूबीचको घनिभूत छलफलपछि पात्रो प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको हो। 

समितिका कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीले यस पटकको पञ्चाङ्ग निर्माण गर्दा संस्कृतिविद् र विभिन्न प्राध्यापकहरूको रायलाई समेत समेटिएको जानकारी दिएका छन्। यस वर्ष कार्यकारी निर्देशकको नियुक्तिमा केही ढिलाइ भएका कारण पात्रो सार्वजनिक गर्ने मिति अघिल्ला वर्षहरूभन्दा करिब १० दिन पछि सरेको उनले बताए।

समितिले विसं २०८३ का लागि १८ वटा पुराना पात्रोहरूलाई प्रकाशनको स्वीकृति दिने निर्णय गरेको छ। स्वीकृति पाउनेहरूमा तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, सूर्य, आकाशदर्शन, बगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि, खप्तड तारानाथ, गौरीशङ्कर, भृगु अङ्गिरा, कश्यप, मुक्तिनाथ र आर्यावर्त पञ्चाङ्ग रहेका छन्। विसं २०८१ सम्म १४ वटा मात्रै पात्रो प्रकाशन हुने गरेकोमा २०८२ देखि थप चार वटा नयाँ पात्रोले पनि स्वीकृति पाएका थिए। ती नयाँ पात्रोहरूलाई अहिले दुई वर्षे परीक्षण कालमा राखेर अनुमति दिइएको समितिले जनाएको छ।

मन्त्रालय अन्तर्गतको यस समितिलाई पात्रो र भित्तेपात्रो प्रकाशनको स्वीकृति दिने तथा चाडबाड र तिथिमितिको निर्णय गर्ने पूर्ण अधिकार छ। २०७७ सालको गठन आदेशले समितिलाई धर्म र संस्कृतिको क्षेत्र नियमन गर्ने जिम्मेवारी दिएको भए पनि यस क्षेत्रका अभियानकर्मीहरूले छुट्टै विधेयकको माग गर्दै आएका छन्। नयाँ वर्षको पात्रो समयमै बजारमा आउनाले सर्वसाधारणलाई विवाह, व्रतबन्ध र अन्य धार्मिक कार्यको साइत जुराउन सहज हुनेछ। एउटा नयाँ पात्रोले पनि स्वीकृतिका लागि निवेदन दिएको भए पनि त्यसबारे निर्णय हुन भने बाँकी रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ