बाजुराका १८ सयभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २० मंगलबार
832
Shares
काठमाडौँ । बाजुरा जिल्लाका एक हजार ८०६ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपीभी) लगाइने भएको छ। स्वास्थ्य कार्यालय बाजुराका अनुसार राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत यही माघ २७ देखि फागुन ३ गतेसम्म जिल्लाभर यो अभियान सञ्चालन हुनेछ।
स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लालबहादुर खड्काले यस वर्ष कक्षा ६ मा अध्ययनरत एक हजार ७८१ र विद्यालय बाहिर रहेका २५ जना किशोरीलाई लक्षित गरी खोप कार्यक्रम तय गरिएको जानकारी दिए। विद्यालय बाहिर रहेका किशोरीहरूमा बुढीगङ्गाका १६, बडीमालिकाका ६ र त्रिवेणी नगरपालिकाका १ जना रहेका छन्।
गत वर्ष बाजुरामा अभियानकै रूपमा सात हजारभन्दा बढी किशोरीलाई यो खोप लगाइएको थियो भने यस वर्षदेखि यसलाई नियमित खोपका रूपमा अघि बढाइएको हो। जिल्लाका नौवटै स्थानीय तहका विद्यालयहरूमा खोप केन्द्र स्थापना गरिनेछ भने नजिकैका स्वास्थ्य संस्थाबाट पनि खोप लगाउन सकिने व्यवस्था मिलाइएको छ।
खोप अभियान गौमुल गाउँपालिका तथा बुढीगङ्गा र त्रिवेणी नगरपालिकामा माघ २७ गतेदेखि सुरु हुनेछ। त्यस्तै, स्वामीकार्तिक खापर, जगन्नाथ, खप्तड छेडेदह र बडिमालिकामा माघ २८ देखि तथा हिमाली गाउँपालिकामा माघ २९ गतेदेखि खोप दिइने खड्काले बताए।
स्वास्थ्य कार्यालयका अनुसार किशोरीहरूको पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अत्यन्तै प्रभावकारी मानिन्छ। गत वर्ष बाजुरामा ९८ प्रतिशत किशोरीले यो खोप लगाएको तथ्याङ्क छ, जसले जिल्लामा खोपप्रतिको सचेतना राम्रो रहेको देखाउँछ।
क्यान्सर जस्तो घातक रोगबाट भविष्यमा जोगिनका लागि यो खोप महत्वपूर्ण हुने भएकाले स्वास्थ्यकर्मीहरूले सबै लक्षित किशोरीलाई खोप केन्द्रसम्म पुग्न आग्रह गरेका छन्। सरकारले यसलाई किशोरीहरूको स्वास्थ्य सुरक्षाको विशेष प्राथमिकतामा राखेको छ।